Friday, August 8, 2014

सात जना सचिवमा बढुवा

काठमाडौं, २३ साउन– सरकारले वरिष्ठ सहसचिवहरूबाट सात जनालाई सचिवमा बढुवा गरेको छ । सरकारले सात जनाको बढुवा गरे पनि विभिन्न मन्त्रालय र निकायमा १४ सचिव पद अझै रिक्त रहनेछन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बढुवा समितिको सिफारिसमा सचिव बढुवा गरेकामा नरबहादुर रजवार, उत्तमकुमार भट्टराई, शरदचन्द्र पौडेल, अर्जुनकुमार कार्की, महाश्रम शर्मा, दीपेन्द्रनाथ शर्मा र विष्णुप्रसाद लम्साल छन् । 
मन्त्रिपरिषदले निजामती सेवा ऐनको वरिष्ठबाट बढुवा हुने कुल सात पदमध्ये २० प्रतिशत (२ पद) मा रजवार र भट्टराईलाई सचिवमा पदोन्नति गरेको हो । उनीहरू दुवै जना सबभन्दा वरिष्ठ सहसचिव हुन्, दुवै कृषि मन्त्रालयका प्राविधिक सहसचिव हुन् । 
मन्त्रिपरिषदले निजामती सेवा ऐनको प्रावधानअनुसार पा“च पदका लागि तेब्बर संख्यामा सिफारिस भएका १५ जना सहसचिवमध्येबाट शरदचन्द्र पौडेल, अर्जुनकुमार कार्की, महाश्रम शर्मा, दीपेन्द्रनाथ शर्मा र विष्णुप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको हो ।
सचिवमा बढुवा भएका कार्की र शर्मा कामु सचिवका रूपमा क्षेत्रीय प्रशासकमा कार्यरत थिए । शिक्षा सेवा समूहका शर्माले ५८ वर्ष उमेर पुरा गरी बिहीबार बेलुका अनिवार्य अवकास पाइसकेका छन् । मन्त्रिपरिषदको सा“झ बसेको बैठकले बेलुका ५ बजेदेखि लागू हुने गरी अवकास पाइसकेका शर्मालाई पदोन्नति गरेको हो । उनले सचिवका रूपमा कार्य गर्न पाउने छैनन्, पेन्सन सुविधा भने सचिवको पाउनेछन् । सरकारले उनलाई पेन्सन सुविधा बढी दिनका लागिमात्र बढुवा गरिदिएको हो ।

सचिव बढुवा भएका पौडेल अध्यागमन विभागको महानिर्देशक, दीपेन्द्रनाथ शर्मा शान्ति मन्त्रालयमा, लम्साल भारतका लागि नेपाली दुतावासमा इकोनोमिक काउन्सिलर थिए । सचिव बढुवामा कानुन समूहका ८ जना सहसचिव सिफारिसमा परे पनि एक जना पनि बढुवामा परेनन् । सिफारिसमा परेका प्रशासन समूहतर्फका सबभन्दा वरिष्ठ सहसचिव सुनिलबहादुर मल्ल भने सचिव बढुवामा परेनन् । ६ पटक सचिव बढुवाको सिफारिसमा परेका मल्ल पदोन्नतिमा परेनन् भने पहिलोपटक सिफारिसमा परेका शर्मा भने बढुवामा परे ।
नायव महालेखा परिक्षकमा श्रेष्ठ
सरकारले महालेखा परिक्षकको कार्यालयमा रिक्त नायव महालेखा परिक्षकमा सबभन्दा वरिष्ठ उपमहालेखा परिक्षक गुणराज श्रेष्ठलाई बढुवा गरेको छ ।
एनटीभीको अध्यक्षमा शाह
सरकारले नेपाल टेलिभिजन सञ्चालक समितिको अध्यक्षमा नीर शाहलाई नियुक्त गरेको छ । शाह टेलिभिजनमा स्थापनाकालदेखि लामो समयसम्म प्रमुख कार्यकारी पदमा थिए ।










No comments:

Post a Comment