Friday, August 1, 2014

हुलाकी मार्ग : सम्झौता भएको २३ वर्षमा जम्मा ८ प्रतिशत काम

काठमाडौं, १७ साउन– पूर्व–पश्चिम हुलाकी मार्ग भारतीय सहयोगबाट नेपालमा हुने पूर्वाधार विकासका आयोजनामा भारतीय सहयोगमा कुन गतिमा काम हुन्छ भन्ने एउटा राम्रो उदाहरण बनेको छ । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २३ वर्षअघि गरेको नेपाल भ्रमणका क्रममा यो सडक निर्माण गर्ने सहयोग सम्झौता भएको हो ।
सहमति भएको १८ वर्षपछिमात्र यो सडक निर्माणका लागि अध्ययन सुरु भयो । दुई वर्षमा विस्तृत इन्जिनियरिङ अध्ययन र ठेक्कापट्टा आह्वानको काम भयो । ठेकेदार छनौट भएको तीन वर्षमा पनि यो सडकको हालसम्म १४ किलोमिटरमात्रै कालोपत्र गर्ने काममात्र सम्पन्न भएको छ, जबकि यो सडक १५ सय किमी लामो छ । झापाको चारआली–केचनादेखि कञ्चनपुरको बह्मदेवमण्डीसम्म निर्माण हुने यो सडक भारतीय सीमाबाट नेपालतर्फ २ देखि २५ देखि ३० किमीभित्रसम्म निर्माण हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो सहयोगको अपेक्षा गरिरहेका नेपाल सरकार र नीतिनिर्माताका लागि हुलाकी मार्ग भारत सरकारको सहयोगको समिक्षा गर्न एउटा राम्रै उदाहरण बन्न सक्छ । राणाकालमा तराईमा हुलाकीहरूले चिठीपत्र ओसार्ने प्रमुख बाटो भएकाले यसको नाम हुलाकी मार्ग राखिएको हो ।
भारतीय सहयोगमा निर्माण सुरु भएको पूर्वको झापादेखि पश्चिम कञ्चनपुर जोड्ने हुलाकी मार्गमा भारतीय ठेकेदारले काम नगर्दा तीन वर्षमा हालसम्म जम्मा ८ प्रतिशतमात्र काममात्र भएको छ । चालू आवमा भारत सरकारले यो सडकका लागि २ अर्ब २१ करोड रुपैया“ विनियोजन गरेकामा करिब ३ करोड अर्थात् १२ प्रतिशतमात्र खर्च भएको छ । पहिलो चरणमा भारतले ६ सय किमी सडक तीन वर्षमा निर्माण गर्ने समझदारी भएको थियो । ६ सय किमीका लागि ६ वटा खण्ड बनाएर ठेक्का गरिएको थियो । जसमध्ये ६ वटा प्याकेजमध्ये पहिलो कैलालीमा ४० प्रतिशत, अरू २ वटा खण्डमा नगण्यकाम भएको छ भने पर्सादेखि सप्तरीसम्मको ३, ४, ५ खण्डमा भारतीय ठेकेदारका कारण कामै सुरु भएको छैन । काम सुरु भएको बा“की तीन खण्डको कामको प्रगतिसमेत अत्यन्त निराशाजनक रहेको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले दिएका छन् । भारत सरकारको सहयोगमा निर्माणाधीन आयोजनामा भारतीय ठेकेदारले मात्र प्रतिस्पर्धा गर्न पाउ“छन् । भारतीय ठेकेदारले अत्यन्त कम रकममा ठेक्का हालेका कारण घाटा हुने भएकाले उनीहरूले काम नगरेको विश्लेषण भौतिक पूर्वाधार मन्त्रालयको छ ।
सन् २०११ देखि सुरु गरिएको यो सडकको २०१४ मार्च १९ सम्ममा पहिलो चरण्ँको काम करिब ६ सय किमी सडक कालोपत्र भइसक्नुपर्नेमा १४ किमीमात्र पिच भएको छ । पूर्व–पश्चिम १५ सय किमी लामो हुलाकी मार्ग पहिलो चरणमा ६ सय किमी र दोस्रो चरणमा ९ सय किमी बनाउने सम्झौतामा उल्लेख छ । तर, पहिलो चरणको कामको प्रगति नै सन्तोषजनक नभएकाले दोस्रो चरण कहिले सुरु हुने अनिश्चित भएको छ । पहिलो चरणको ६ सय किमीमा पर्ने पुल ६२ वटा नेपालले बनाउनुपर्ने सहमतिमा उल्लेख छ, नेपालले हालसम्म ३३ वटा पुल निर्माण सम्पन्न गरिसकेको छ भने ४५ वटा पुल निर्माणाधीन अवस्थामा छन् । पुलका लागि नेपाल सरकारले ९० करोड रुपैया“ खर्च गरिसकेको छ । दोस्रो चरणमा ६० वटा पुल बनाउनुपर्नेछ, ती पुल भारत सरकारलाई नै बनाइदिन नेपालले आग्रह गर्ने भएको छ ।
हुलाकी मार्गको पहिलो चरणको ६ सय किमी बनाउन १० अर्ब रुपैया“ (पुलको लागतबाहेक) लाग्नेछ । दोस्रो चरणको ९ सय किमी बनाउन २५ अर्ब रुपैया“ लाग्नेछ भने भारतले नै पुल निर्माण गर्न सहमत भयो भने लागत १२ अर्ब रुपैया“ थपिनेछ ।
पहिलो खण्डमा भारतसितको सम्झौताअनुसार नेपालले नापनक्सा गरी मुआब्जा वितरण, बस्ती स्थानान्तरण, रूख काट्नेलगायतका मानवीय अवरोध हटाउने काम गरिसकेको छ । दोस्रो चरणका लागिसमेत नेपालले यस्ता काम सुरु गरिसकेको छ । यो तराई–मधेसको आर्थिक तथा भौतिक विकासका लागि धेरै महत्वपूर्ण सडक हो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला यो मार्गको निर्माणमा भइरहेको ढिलाइलाई लिएर नेपालले प्रमुखता उठाउने भएको छ ।
नेपाल पक्षले आगामी तीन वर्षभित्र हुलाकी मार्ग सम्पन्न हुने आश्वस्नसहितको सम्झौता गर्न प्रस्ताव गर्ने भएको छ । सरकारले भारतीय ठेकेदारका कारण निर्माण गर्न ढिलाइ हुने हो भने ठेक्का रद्द गरी नेपाललाई निर्माण गर्न दिन भारत सरकारलाई आग्रह गर्ने भएको छ ।  ‘कुनै प्राविधिक कारणले अप्ठ्यारो पर्ने भए ठेक्का सम्झौता रद्द गरी भारत सरकारले सडक बनाउ“दा लाग्ने सहयोग रकम नेपाललाई दिने र नेपाल सरकारले बनाउने वैकल्पिक प्रस्ताव हाम्रो तर्फबाट राख्नेछौ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

No comments:

Post a Comment