Tuesday, December 24, 2019

‘सिमेन्टको नयाँ गुणस्तर मापदण्ड लागू नगर्नू’

सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं, ७ पुस– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओपीसी सिमेन्टको नयाँ गुणस्तर मापदण्ड कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले गत असार १८ मा नेपाल गुणस्तर परिषद्बाट निर्धारित मापदण्डले सिमेन्टको गुणस्तर घट्ने निष्कर्ष निकाल्दै त्यसलाई लागू नगर्न निर्देशन दिएको हो ।
समितिले ओपीसी सिमेन्टको ०५५ जेठ ५ मा निर्धारित पुरानै गुणस्तर मापदण्ड कायम गर्न निर्देशन दिएको छ । पुरानो मापदण्डमा इन्सोलुबल रेसिडियु (आईआर) को मात्रा दुई प्रतिशत र म्याग्नेसियम अक्साइड (एमजीओ) को मात्रा पा“च प्रतिशत रहेकामा परिषद्ले आईआरलाई चार प्रतिशत र एमजीओलाई ६ प्रतिशत बनाएको थियो । मापदण्ड बढाउँदा सिमेन्टको गुणस्तर कमजोर हुने विशेषज्ञहरूको रायका आधारमा समितिले सरकारलाई पुरानै मापदण्ड कायम राख्न भनेको समितिका सचिव रोजनाथ पाण्डेले बताए ।
पाण्डेका अनुसार समितिको यसअघिको बैठकमा सम्बन्धित क्षेत्रका विज्ञहरूले नया“ मापदण्ड लागू नगर्न सुझाव दिएका थिए । सांसदहरूले सिमेन्टको गुणस्तर मापदण्ड मानवीय संवेदनशीलतासँग जोडिएको उल्लेख गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीले आर्थिक स्वार्थ सिद्ध गर्न नयाँ कमजोर मापदण्ड लागू गर्न खोजेको त होइन, प्रश्न गरेका थिए ।
सांसदहरूको रायपछि समिति सभापति भारतकुमार शाहले व्यक्तिका निजी घर, सार्वजनिक तथा निजी विकासका भौतिक पूर्वाधारमा प्रयोग हुने सिमेन्टको गुणस्तरमा कुनै सम्झौता नगर्न र पुरानै गुणस्तर मापदण्ड कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीलाई निर्देशन दिए । समितिको बैठकमा गुणस्तर विभागले सिमेन्टको उत्पादनमा सहजीकरण गर्न नयाँ मापदण्ड बनाएको दाबी गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने नयाँ मापदण्डले सिमेन्टको गुणस्तर नघटाउने बताएका थिए ।
मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले मुलुकमा उत्पादन भइरहेका सिमेन्टको गुणस्तरका बारेमा जानकारी गराउँदै मन्त्रालयले गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
मन्त्रालयले गत असोज १२ गते समितिलाई नयाँ मापदण्ड लागू नगरिएको र मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने लिखित जानकारी गराएको थियो । तर विभागले नयाँ मापदण्डअनुसार परीक्षण उत्पादन सुरु गर्न सिमेन्ट उद्योगहरूलाई गत साउन २७ मै लिखित निर्देशन दिएको पत्र हालै प्राप्त गरेपछि समितिले त्यसबारे छानबिन सुरु गरेको थियो ।

No comments:

Post a Comment