Tuesday, December 31, 2019

असारसम्म मेलम्ची ल्याइसक्न समितिको निर्देशन

काठमाडौं, १४ पुस– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्रै मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले पछिल्लो ठेक्का सम्झौताअनुसार तोकिएको अवधिमै आयोजना सम्पन्न गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले आयोजनामा भुक्तानी नपाएका कारण आन्दोलित सामान सप्लायर (नेपाली आपूर्तिकर्ता) को समस्या समाधानका लागि गठित समितिको प्रतिवेदन पेस गर्नसमेत भनेको छ । यसअघिको इटालियन ठेकेदार कम्पनी सीएमसीले भुक्तानी दिन बाँकी रहेका आपूर्तिकर्ताका विषयमा निर्णय गर्न मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
समितिले आयोजना निर्माणस्थलका बासिन्दाका लागि सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारको विकास गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभापति कल्याणीकुमारी खड्काले आयोजना चाँडो सम्पन्न गर्न मेलम्ची खानेपानी विकास समितिलाई आवश्यक सहयोगका लागि समिति तयार रहेको बताइन् ।
विकास समितिका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले इटालीको निर्माण कम्पनीले काम गर्दा किनेका कतिपय निर्माण सामग्री बिग्रिएको र कतिपय अहिले पनि प्रयोग गर्न मिल्ने अवस्थामा रहेको जानकारी गराए । उनका अनुसार सीएमसीका पालामा ढुवानी गरिएको गिट्टी–बालुवा अहिले पनि प्रयोग गर्न मिल्ने अवस्थामा छ । ‘ती सामग्री अहिले काम गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिन सके त्यसबाट आपूर्तिकर्तालाई झन्डै डेढ करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ,’ उनले भने ।

No comments:

Post a Comment