Wednesday, December 25, 2019

मेजर थापा सैनिक हिरासतमा

काठमाडौं, ८ पुस– नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाइदिने प्रलोभन दिई रकम असुली गर्दै आएका सेनानी (मेजर) सुवास थापालाई पक्राउ गरेको छ । नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको जानकारी जंगी अड्डा स्रोतले दिएको छ ।
स्रोतका अनुसार सिपाहीदेखि जमदारसम्मका १२ जनाले थापाविरुद्ध आफूहरूसित शान्ति सेनामा पठाइदिन रकम असुलेको उजुरी जंगी अड्डामा दिएपछि अनुसन्धान सुरु भएको हो । थप अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई मंगलबार हिरासतमा लिइएको जानकारीसमेत स्रोतले दिएको छ ।
थापाले शान्ति सेनामा पठाइदिने प्रलोभन लाखौं रुपैयाँ उठाइसकेको समेत स्रोतले उल्लेख गरेको छ । उनले आफू प्रधानसेनापति पूर्णचन्द्र थापाको नजिकको मान्छे भएको दाबी गर्दै शान्ति सेनामा पर्न इच्छुक सैनिकहरूसित रकम असुलेको जानकारीसमेत स्रोतले जनाएको छ ।
थापालाई रकम बुझाएका सैनिकहरूले शान्ति सेनामा जाने सूचीमा आफ्नो नाम नपरेपछि उजुरी दिएका हुन् । शान्ति सेना जाने सूचीमा नपरेपछि रकम फिर्ता माग्नेहरूलाई मेजर थापाले उल्टै धम्क्याएको समेत स्रोतले उल्लेख गरेको छ ।
सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरी थापाविरुद्ध छानबिन गरी रकम लिएको पुष्टि भए बर्खास्तगी र जेल सजायसम्मको कारबाही गर्न सकिने जंगी अड्डा स्रोतले बताएको छ ।

No comments:

Post a Comment