Thursday, December 26, 2019

लेखा अधिकृत घूससहित पक्राउ, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं, ९ पुस– पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित पक्राउ गरेको छ । पक्राउ परेकामा कार्कीका अतिरिक्त घरेलु तथा साना उद्योग कार्यालय, सर्लाहीका कम्प्युटर अपरेटर नवीनकुमार सिंह, रूपन्देही जिल्ला अदालतका नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा छन् । 
कार्की ८ हजार ५ सय, सिंह ७० हजार, न्यौपाने र शर्मा २ हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेको अख्तियारले जनाएको छ । उनीहरूलाई हिरासतमा राखी भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको अख्तियारले जनाएको छ ।
यसैबीच अख्तियारले डडेलधुराको परशुराम नगरपालिकाका इन्जिनियर नरेन्द्रबहादुर भाटसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भाटसहित ५ जनाले मिलेमतोमा बेलडाँडी कृषि सडकको निर्माणका क्रममा नक्कली बिलभर्पाइ बनाई १ लाख ७३ हजार १ सय ९० रुपैयाँ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा नगरपालिकाका सब–इन्जिनियर नरबहादुर बोहरा, बेलडाँडी कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर बोहरा, कोषाध्यक्ष मथुरीदेवी बोहरा र सचिव तेजबहादुर बोहरा छन् । उनीहरूलाई तीन महिना जेल सजाय र बिगोबराबर जरिवाना गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment