Monday, December 2, 2019

पुराना पदाधिकारी नियुक्ति नगर्न द्वन्द्वपीडितको ज्ञापनपत्र

काठमाडौं, १५ मंसिर– द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पुराना पदाधिकारीलाई पुनः नियुक्ति नगर्न माग गर्दै आइतबार संघीय संसद्लाई ज्ञापनपत्र दिएको छ ।
चौतारीले पीडितको भावनाविपरीत पदाधिकारी नियुक्ति नगर्न आग्रह गर्दै आइतबार संघीय संसद्का सभामुखको सचिवालय, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र दिएको हो । ‘पीडितको भावनालाई कुल्चिएर पुरानै पदाधिकारीको पुनः नियुक्ति संसद्को समेत अपमान र ऐनको भावनाविपरीत हुन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको आयोगमा गत चैत मसान्तमा पदाधिकारीको म्याद सकिएको थियो । ती आयोगमा पुनः पुरानै पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको छ । चौतारीले पुराना पदाधिकारीबाट न्याय पाउने आशा नभएकाले नयाँ नियुक्ति हुनुपर्ने माग गरेको छ ।

No comments:

Post a Comment