Sunday, December 29, 2019

फेल भएका ७१ जनालाई पैसा लिएर लाइसेन्स

काठमाडौं, १२ पुस– यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा मोटो रकम असुली गाडी चलाउने ट्रायल परिक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई पास गराई लाइसेन्स दिएको पाइएको छ ।
यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले अनियमितता गरी लाइसेन्स वितरण गरेको भन्ने उजुरीको छानबिनका क्रममा ट्रायलमा फेल र अनुपस्थित ठूलो संख्याका परिक्षार्थीलाई पास गराएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले अनियमितता गरी लाइसेन्स वितरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख एवं परिक्षा समितिका अध्यक्ष (उपसचिव) पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार पोखरेल र श्रेष्ठले आफ्नो कार्यकालमा सवारी चालक अनुमतिपत्रका लागि लिइएको परिक्षाको परिणाम फेरबदल गरी प्रतिव्यक्ति १० देखि २५ हजार रुपैयाँका दरले पैसा लिएर फेल र अनुपस्थित रहेका ७१ जनालाई उत्तीर्ण गराई लाइसेन्स दिएका थिए । पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध ६ महिना कैद सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय, सेती अञ्चल धनगढीका नायब सुब्बा लक्ष्मीदेवी शाहविरुद्ध समेत मुद्दा दायर गरेको छ । शाहले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सिनियर अहेव मिनबहादुर विष्टविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिष्टले नक्कली बिलभर्पाइ बनाई २ लाख ३४ हजार रुपैयाँ भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै उपसचिव पोखरेल, इन्स्पेक्टर श्रेष्ठ, नायव सुब्बा शाह र सिनियर अहेव बिष्ट सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment