Monday, December 2, 2019

दुई सहायक रजिस्ट्रार र इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, १५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रारको कार्यालयका दुई सहायक रजिस्ट्रार र ललितपुर महानगरका इन्जिनियरसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कम्पनी रजिस्ट्रारको कार्यालयका सहायक रजिस्ट्रार टंकबहादुर भट्टराई र सेवाग्राही सुनिल आचार्यविरुद्ध घूस लेनदेन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । भट्टराईले सेवाग्राहीको कम्पनी अद्यावधिक गर्ने क्रममा २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध डेढ महिना जेल सजाय र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ । 
अख्तियारले कम्पनीसम्बन्धी प्रशासनिक कामको सिलसिलामा सेवाग्राहीसित घूस लिएको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यालयका अर्का सहायक रजिस्ट्रार सीताराम खड्काविरुद्ध समेत मुद्दा दायर गरेको छ । खड्कालाई डेढ महिना जेल सजाय र बिगो बराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ ।
यस्तै, अख्तियारले घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसित घूस लिएको अभियोगमा ललितपुर महानगरपालिका–२८ का इन्जिनियर महेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा बाराको आदर्शकोतवाल गाउँपालिका–६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजराविरुद्ध समेत मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार छानबिनबाट यादव र हजराले वृद्ध तथा विधवा भत्ता वितरणमा घूस लिने गरेको पुष्टि भएको थियो ।



No comments:

Post a Comment