Saturday, December 14, 2019

विस्फोटमा संलग्न अपराधीलाई सरकारले कारबाही गरिछाड्छ : गृहमन्त्री

काठमाडौं, २८ मंसिर– गृहमन्त्री रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई सरकारले कारवाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको ज्यानै लिने गरी गराइएको विस्फोटलाई ‘आततायी घटना’ को संज्ञा दिई सरकारका तर्फबाट त्यसमा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विष्फोटमा परि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ’ फेसबुकमा थापाले लेखेका छन्– ‘यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्छु ।’
शुक्रबार राति १२ बजे राजेशको नवनिर्मित घर बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा पुगेको प्रहरी टोलीले गेटमा झुण्डिएको झोलामा बम छ कि छैन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो ।
विस्फोटमा परी स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा मृत्यु भएको छ । विस्फाटबाट राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह, प्रहरी जवान रिजनाथकुमार महतोसमेत घाइते भएका छन् ।

No comments:

Post a Comment