Sunday, December 1, 2019

गेस्टहाउस सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १४ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घूस दिन खोजेको अभियोगमा काठमाडौं, टोखा नगरपालिकास्थित ‘आगमन फुडल्यान्ड एन्ड गेस्टहाउस’ की सञ्चालक सोममाया राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार गेस्टहाउस जाँच नगरिदिन आग्रह गर्दै प्रहरी टोलीलाई घूस दिन खोजेकी राई ५० हजार रुपैयाँसहित पक्राउ परेकी थिइन् । राईले घूस दिन खोेजेको पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा डेढ महिना जेल सजाय र घूस दिन खोजेको रकम जफत गर्न मागदाबी गरेको छ ।
यसैगरी अख्तियारले सिन्धुलीको साविक जलकन्या गाउँ विकास समितिका तत्कालीन सचिव विष्णुप्रसाद भण्डारीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले साविक जलकन्या गाविसका तत्कालीन प्राविधिक सहायक वीरेन्द्रकुमार दोवकोटाका नाममा तीन महिनाको तलबभत्ता बढी भुक्तानी भएको देखाई ५८ हजार ३ सय २९ रुपैयाँ अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment