Friday, March 1, 2019

हेलिकप्टर दुर्घटना मुलुकलाई अपूरणीय क्षति : नेकपा

काठमाडौं, १५ फागुन– सत्तारूढ नेकपाले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै यसबाट मुलुकलाई अपूरणीय क्षति पुगेको भएको उल्लेख गरेका छन् ।
‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ’ विज्ञप्तिमा छ ।
नेकपाले अधिकारीलाई होनाहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।
२०६४, २०७० र २०७४ सालको संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा कास्कीबाट निर्वाचित अधिकारी अब्बल राजनीतिकर्मीका रूपमा स्थापित भएका नेकपाले उल्लेख गरेको छ । नेकपाले दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारी, पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

No comments:

Post a Comment