Saturday, March 30, 2019

एसईई परिक्षाका दिन बन्द नगर्न मानव अधिकार आयोगको आग्रह

चन्द समूहसित वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव 
काठमाडौं, १३ चैत– राष्ट्रिय मानव अधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा बन्द आहवान नगर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी एसईई र नेपाल बार एसोसिएसनको निर्वाचन परेकाले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिन आग्रह गरेको हो । उक्त दिन एसईईको जनसंख्या तथा वातावरण विषयको परीक्षा छ ।
आयोगले बन्दले आमनागरिकको स्वतन्त्रतापूर्वक हि“डडुल गर्न पाउने, स्वास्थ्य, शिक्षा, पेसा–व्यवसाय र रोजगारीलगायत अधिकार उपभोगमा बाधा पुग्ने उल्लेख गरेको छ । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या, हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न आग्रह गरिएको छ ।
आयोगले सरकारलाई पनि राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै नागरिकलाई धरपकड नगर्न र संविधानप्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन आहवान गरेको छ ।
 चन्द समूहसित वार्ताबाटै समस्याको निकास खोज्न जोड दिइएको छ । ‘कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संघर्ष एवं आन्दोलनहरू वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात् गर्दै त्यसतर्फ गम्भीर रहन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment