Friday, March 8, 2019

छाउपडी दुई महिनाभित्र निर्मूल गर्न निर्देशन

काठमाडौं, २३ फागुन– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सुदूर पश्चिममा प्रचलित छाउपडी प्रथाले वर्षेनि सयौं महिला पीडित हुनु परेको उल्लेख गर्दै त्यसलाई दुई महिनाभित्र निमूल गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले बैठकले सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महिनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।
समितिले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रूपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई आग्रह गरेको छ ।
समितिले छाउपडीसहितका कुरीति, कुप्रथा तथा कुसंस्कार निर्मूल गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसमेत सहभागी थिए । समितिले विद्यमान कुरीति, कुप्रथा, कुसंस्कारको विस्तृत अध्ययन गरी सूची तयार गर्न तथा न्यूनीकरणका लागि स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गरेको छ ।
बैठकले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्षका रूपमा मनाउन सकिने वा नसकिने सम्बन्धमा मन्त्रालयलाई एक साताभित्र समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ । बैठकमा मन्त्री थापाले समितिले दिएको निर्देशन अनुसार मुलुकमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार न्यूनीकरणका लागि काम गर्ने र योजना बनाएर स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

No comments:

Post a Comment