Friday, March 1, 2019

मन्त्रीको निधनमा परम्पराअनुसार नै सार्वजनिक बिदा : गृह

काठमाडौं, १६ फागुन– सरकारले परम्पराअनुसार नै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा राष्ट्रिय शोक घोषणा गरी बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘मुलुकमा राष्ट्राध्यक्ष, पूर्व राष्ट्राध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारी निधन हु“दा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिने परम्परा छ’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कान्तिपुरसित भने– ‘त्यही परम्पराअनुसार बहालवाला मन्त्री अधिकारीको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिइएको हो ।’
उनले परम्पराअनुसार नै सरकारले स्व. अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको जानकारीसमेत दिए । सरकारले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यबहादुर थापाको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो । सरकारले उनीहरूको अन्तिम संस्कारसमेत राजकीय सम्मानका साथ गरेको थियो । सरकारले पञ्चायतकालीन पूर्वप्रधानमन्त्रीहरूको निधन हुँदा भने राष्ट्रिय शोक घोषणा गर्ने र सार्वजनिक बिदा दिने गरेको छैन । ०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री भएकालाई मात्र त्यस्तो सम्मान दिने सरकारको निर्णय छ ।
तत्कालीन वनराज्यमन्त्री गोपाल राईसहित २४ जना २०६३ असोज ७ ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका बेला भने सरकारले सार्वजनिक बिदा दिएको थिएन । राई क्याबिनेट राज्यमन्त्री थिए । उनको निधनमा वन मन्त्रालय र मातहतका कार्यालयमा मात्र बिदा दिई राष्ट्रिय झन्डा आधा झुकाइएको थियो ।
पञ्चायतकालमा बहालवाला मन्त्रीको निधन हुँदा सार्वजनिक बिदा दिने परम्परा थियो । 
मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि सरकारले बहालवाला मन्त्रीको निधन हु“दा पहिलोपटक सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले पुरानो परम्पराअनुसार मन्त्री अधिकारीको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको जानकारी स्रोतले दिएको छ ।





No comments:

Post a Comment