Thursday, January 23, 2020

गैरकानुनी मिर्गौला प्रत्यारोपणका पाँचै जना आरोपी रिहा

काठमाडौं, ८ माघ– उच्च अदालत पाटनले गैरकानुनी रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोग लागेका ललितपुरको निदान अस्पतालका कार्यकारी निर्देशक विपेन्द्र प्रधान र चिकित्सक राजेश पन्तसहित पाँचै जनालाई रिहा गरेको छ । ललितपुर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा परेका ५ जनामध्ये २ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा रिहा गरिएको हो ।
आदेशअनुसार डा. पन्त, मिर्गाैला प्रत्यारोपण गराएका शंकरलाल लामा र ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत रामचन्द्र आले साधारण तारेखमा छुटेका छन् भने अस्पतालका कानुनी सल्लाहकार कुमोदकुमार भट्टराई ९ लाख र कार्यकारी निर्देशक विपेन्द्र प्रधान ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
नक्कली भान्जा बनाएर मिर्गाैला प्रत्यारोपण गराएको अभियोगमा ललितपुर जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पाँचै जना उच्च अदालत गएका थिए ।
नेपाल प्रहरीको मानव बेचबिखन अपराध ब्युरोले घटनाको अनुसन्धान गरी गैरकानुनी रूपमा मिर्गौला प्रत्यारोपण गराएको अभियोगमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । शंकरलालका आफ्नै भान्जा भन्दै नक्कली कागजातका आधारमा अर्कै व्यक्तिको मिर्गाैला झिकी प्रत्यारोपण गराइएको थियो । जिल्ला प्रशासनका तत्कालीन शाखा अधिकृत आलेले नक्कली कागजात प्रमाणित गरी सिफारिस गरेका थिए ।

No comments:

Post a Comment