Monday, January 13, 2020

निर्वाचन आचारसंहिता जारी

काठमाडौं, २७ पुस– निर्वाचन आयोगले राष्ट्रिय सभाका १८ सदस्य चयन गर्न आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबारदेखि लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी गरिएको आचारसंहिताको पूर्ण रूपमा पालना गर्न÷गराउन सम्पूर्ण सरोकारवाला पक्षलाई निर्देशन दिएको छ। आचारसंहितामा सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, तीनै तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुने आयोगले उल्लेख गरेको छ ।
आयोगका अनुसार नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, दल तथा तिनका भ्रातृ संगठन र उम्मेदवारका व्यक्तिका हकमा समेत आचारसंहिता लागू हुनेछ । आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले समेत आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ ।

No comments:

Post a Comment