Thursday, January 9, 2020

उत्तरपुस्तिका नै साट्नेविरुद्ध मुद्दा

काठमाडौं, २३ पुस– कर्णाली प्राविधिक शिक्षालयको परीक्षाको प्रश्नपत्र आउट गर्ने र परीक्षार्थीको उत्तरपुस्तिका नै परिवर्तन गर्ने परीक्षा निरीक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षालयका परीक्षा निरीक्षक चन्द्रसिंह खत्री, परीक्षार्थी गंगाराज शाही र बाहिरबाट उत्तर लेखिदिने टंकप्रसाद चौलागाईंविरुद्ध मुद्दा दायर गरेको हो । कृषितर्फको डिप्लोमा प्रथम वर्षका परीक्षार्थी शाहीलाई उत्तीर्ण गराउन खत्रीले सबै विषयमा प्रश्नपत्र आउट गरी चौलागाईंलाई लेख्न लगाएर उत्तरपुस्तिका परिवर्तन गरी अनियमितता गरेकाले तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । परीक्षार्थी शाही प्राविधिक शिक्षालयकै कर्मचारी पनि हुन् । उनको परीक्षा रद्द गरी तीनै जनालाई तीन महिना जेल सजाय र जरिवाना गर्न आयोगले अभियोगपत्रमा मागदाबी गरेको छ ।
आयोगले बुधबार नै घूस खाने र खुवाउने थप चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको महादेवा गाउ“पालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका जवान सरोजकुमार यादव, स्याङ्जा वालिङ–८ का जहरुदिन तेली र सर्लाहीको वाग्मती– ८ सोल्टीबजारका श्यामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो । मिश्रले सेवाग्राहीसित २ लाख र प्रहरी जवान यादवले १५ हजार रुपैयाँ घूस लिएको तथा तेली र श्रेष्ठले प्रहरीलाई घूस खुवाएको अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

No comments:

Post a Comment