Wednesday, January 15, 2020

पूर्वसहायक रथीसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौं, २९ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टसहित ८ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विष्ट र कृषि विकास बैंक, न्युरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेलसहित ८ जनाले मिलेमतोमा अनधिकृत रूपमा बैंकको ४ करोड २४ लाख ७३ हजार रुपैयाँ झिकेर हिनामिना गरेको पाइएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
बैंकबाट रकम झिक्ने र अर्को खातामा राख्ने कार्यमा विभिन्न प्रक्रिया मिलाउने र निकालिएको रकम भाग लगाउने पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर गरिएकामा विष्ट र ढुंगेलका अतिरिक्त दीपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र प्रकाश घतानी छन् । 
अभियोगपत्रमा विष्ट, ढुंगेल र दीपिका रेग्मीलाई जनही ४ करोड २४ लाख, गिरीलाई २ करोड ६२ लाख, सलिल रेग्मीलाई १ करोड १० लाख, मरहट्ठालाई ६७ लाख, घतानीलाई २ करोड ६७ लाख र पाण्डेलाई ४ लाख रुपैयाँ बिगो कायम गरी डेढ/डेढ वर्ष कैद र जेल सजाय माग गरिएको छ ।
अख्तियारले ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीविरुद्ध मंगलबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । विज्ञापनको भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस खाएको पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका कम्प्युटर अपरेटर नवीनकुमार सिंहविरुद्ध सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस लिएको अभियोगमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी जवान लोगबहादुर खड्कालाई मंगलबार नै २ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

No comments:

Post a Comment