Thursday, January 16, 2020

पूर्व सांसदसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, १ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली उपभोक्ता समिति गठन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा पूर्वसांसद वीपी यादवसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिराहाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको २ र ३ वडामा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेर जिल्लाको पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरी २५ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले यादवसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा यादवका अतिरिक्त पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, राजपाका तत्कालीन केन्द्रीय सदस्य हरिनारायण मण्डल, वीरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादव र नायब सुब्बा भागवत यादव छन ।
उनीहरूले एउटा कामका लागि गठन भएको उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा विवरण सच्याएर अर्को उपभोक्ता समितिका लागि सिफारिस गर्न लगाएको अनुसन्धानबाट खुलेको अख्तियारले अभियोगपत्रमा जनाएको छ ।
गलत कागजातका आधारमा योजना सम्झौता गर्दा उनीहरूले नक्कली उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरूको उपस्थितिबिना नै सम्झौता गराएको तथा कृष्णकुमार यादवको नाममा सिद्धार्थ बैंक राजविराज शाखामा खाता खोल्न सिफारिससमेत गरेको खुलेकोसमेत अख्तियारले उल्लेख गरेको छ । अख्तियारले पूर्वसांसद यादवसहित जनही २५ लाख रुपैयाँ बिगो कायम गरी तीन महिना कैद र जरिवाना गर्न माग गरिएको अभियोगपत्रमा उल्लेख गरेको छ ।
यसैगरी अख्तियारले सुर्खेत भेरीगंगा नगरपालिका–१३ साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीविरुद्ध २ लाख १६ हजार ५ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । वन हेरालुलाई पारिश्रमिक दिंदा नेपालीले विभिन्न व्यक्तिले रकम बुझेको नक्कली बिल भरपाई बनाई आफैंले लिई भ्रष्टाार गरेको अनुसन्धानबाट खुलेकोसमेत अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment