Wednesday, January 22, 2020

क्याम्पसको पैसामा प्रमुखलाई सबा लाखको सेट

काठमाडौं, ७ माघ– सानोठिमी क्याम्पस भक्तपुरका प्रमुख रामचन्द्र घिमिरेले अनधिकृत रूपमा क्याम्पसको पैसाबाट सवा लाखको मोबाइल सेट खरिद गरेको पाइएको छ । प्रधानमन्त्रीमातहतको राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका क्रममा घिमिरेले क्याम्पसको पैसाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँमा आइफोन–८ नामक मोबाइल सेट खरिद गरेको पाइएको हो ।
केन्द्रद्वारा मंगलबार जारी प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस प्रमुखहरूले १५ हजार रुपैयाँसम्मको मात्र मोबाइल सेट क्याम्पसको पैसाबाट खरिद गर्न पाउने नियम छ । घिमिरेले नियम उल्लंघन गरी क्याम्पसको खर्चमा बढीको मूल्यको मोबाइल सेट खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको २०७३ फागुन ११ को निर्णयमा क्याम्पस प्रमुखले १ पटकमात्र बढीमा १५ हजार रुपैयाँसम्मको मोबाइल सुविधा पाउने व्यवस्था गरिएको छ । क्याम्पस प्रमुख घिमिरेले मोबाइलबाहेक अरू धेरै कुरामा समेत अनियमितता गरेको पाइएकोसमेत प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार घिमिरेले त्रिविले सञ्चालन गर्ने परीक्षा शुल्कबापतको प्रति विद्यार्थी ५० रुपैयाँको दरले उठाएको रकम क्याम्पसको खातामा जम्मा नगरी २ लाख ७७ हजार ८ सय २५ रुपैयाँ आफैंले चलाएकोसमेत प्रतिवेदनमा उल्लेख छ । छानबिन सुरु भएपछि उनले रकम क्याम्पसको खातामा फिर्ता गरेकोसमेत प्रतिवेदनमा उल्लेख छ ।
घिमिरेले स्ववियु स्मारिकाको नाममा कानुनविपरीत क्याम्पसबाट मेगा प्रिन्टिङ हाउस प्रालिलाई २ लाख ८२ हजार ९ सय ३१ रुपैयाँ भुक्तानी गरेको पाइएकोसमेत केन्द्रले उल्लेख गरेको छ । प्रतिवेदनमा क्याम्पसले लाखौंको सामान टेन्डर वा कोटेसन प्रक्रिया नै नगरी कानुनविपरीत सोझै खरिद गर्ने र बिनाप्रमाण खाजा खर्चको नाममा बिलको भुक्तानी गर्ने गरेको औंल्याउँदै केन्द्रले घिमिरेमाथि अनियमितताको अभियोगमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिविलाई सिफारिस गरेको छ ।

No comments:

Post a Comment