Sunday, January 5, 2020

जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै

काठमाडौं, १९ पुस– जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।
फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ ।
दोस्रो चरणमा आगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ । फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैया“ तोकेको छ । फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ ।
परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ । २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ ।
नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ । फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ ।

पहिलो चरण– १ हजार जना
परीक्षा ः जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिख

दोस्रो चरण– १ हजार ३ सय जना
परीक्षा ः मार्च ३–५, ९–१२ र १५–१९ तारिख

No comments:

Post a Comment