Wednesday, January 1, 2020

बाटो निजी बनाउनेविरुद्ध मुद्दा

काठमाडौं, १५ पुस– नापी तथा मालपोत कार्यालयका प्रमुख र जग्गाधनीको मिलेमतोमा राजधानीमै सरकारी बाटोको जग्गा व्यक्तिगत बनाई अनियमितता गरेको भेटिएको छ । जग्गाधनी अरुणकुमार रञ्जितकारले ३ नम्बर नापी गोश्वारा, काठमाडौं र मालपोत कार्यालय, डिल्लीबजारका प्रमुखहरूलाई अनुचित प्रभावमा पारी सरकारी बाटोको ३ सय ११ वर्गमिटर जग्गा आफ्नो नाममा बनाउन सफल भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका क्रममा काठमाडौं महानगरको कित्ता नम्बर २३७ को २०५२÷५३ मा नयाँ नापी हुँदा सँगै रहेको सार्वजनिक बाटोको ९ आनाभन्दा बढी जग्गा घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरेको भेटेको हो । अख्तियारले सरकारी बाटोको जग्गा व्यक्तिको नाममा कायम गर्ने ३ नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत विष्णुकुमार राईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कर्मचारीलाई प्रभावित पारी सरकारी बाटोको जग्गा आफ्नो बनाउने जग्गाधनी अरुणकुमार रञ्जितकारविरुद्ध समेत मुद्दा दायर गरिएको छ । अख्तियारले उक्त जग्गाको २०५२÷५३ को सरकारी मूल्यांकन ४ लाख १२ हजार ६ सय ३७ रुपैयाँलाई बिगो मानी तीनै जनालाई जनही ६ महिना कैद र जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । अख्तियारले अभियोगपत्रमा अनधिकृत रूपमा व्यक्तिको नाममा कायम गरिएको जग्गा सरकारका नाममा कायम गर्नका लागिसमेत आदेश दिन अदालतमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment