Monday, January 13, 2020

एकै दिन १७ जनाविरुद्ध मुद्दा, लेखा अधिकृत घूससहित पक्राउ

काठमाडौं, २७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एकै दिन डीएफओ, सडकका डिभिजन प्रमुख र वडाध्यक्षसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हरिया साललगायतका रूख जथाभावी कटान गरी डेढ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मकवानपुरका तत्कालीन वन अधिकृत र सामुदायिक वनका अध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएका मकवानपुरका तत्कालीन वन अधिकृत राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरू रामबाबु यादज, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्की, तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव, सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोले छन् ।
उनीहरूले तत्कालीन गढी इलाका, सेक्टर, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडाका कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णयविपरीत हरिया साल तथा अस्ना जातका रूख कटान गरी ९ हजार १ हजार ७८ क्यु फिट बिक्री गरी १ करोड ५२ लाख १९ हजार ३ सय २६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सीडीई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठ र महर्जनले सडक निर्माणको भुक्तानीका लागि ठेकेदारबाट रनिङ बिल पेस हु“दा २० लाख रुपैया“ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूले प्यूठान जिल्लाको भिङग्रीदेखि स्वर्गद्वारी सडक खण्डको १४ किमि कालोपत्रे गर्ने ठेकेदारसित कुल लागत ४ करोडको ६ प्रतिशत रकम घूस लिएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–. १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । मगरले सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गर्ने क्रममा २ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले बाराका कलैया नगरपालिका ७ स्थित श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनरपति कुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले शिक्षक कोटाका लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी १२ लाख २६ हजार रुपैयाँ हिनामिना गरेको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
लेखा अधिकृत घूससहित पक्राउ
अख्तियारले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनीलाई २२ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । सडक निर्माणको मोबिलाइजेसन खर्च बुझ्न आएका ठेकेदारसित लिएको घूस रकमसहित पुडासैनीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनलाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।

No comments:

Post a Comment