Tuesday, January 7, 2020

खाडीका चार मुलुकमा श्रम सहचारी नियुक्त

काठमाडौं, २१ पुस– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारी छनौट गरेको छ । छिट्टै उनीहरू नियुक्तिपत्र बुझेर सम्बन्धित मुलुकमा जाने जानकारी मन्त्रालयले दिएको छ ।
साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि निर्मला थापालाई छनौट गरिएको जानकारी मन्त्रालयले दिएको छ । मन्त्रालयका अनुसार बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई छनौट गरिएको छ ।
श्रम काउन्सेलर र सहचारीले आफू खटिएको मुलुकमा गएर नेपाली कामदार समस्यामा पर्दा उद्धार तथा सहजीकरणको भूमिका निर्वाह गर्नेछन् । काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्थाबमोजिम उनीहरूलाई छनोट गरिएको हो ।
मापदण्डअनुसार श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र र मातहतका कार्यालयमा कार्यरत उपसचिव र अधिकृतमा मात्र काउन्सेलर र सहचारी छनोट प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था छ ।

No comments:

Post a Comment