Monday, January 6, 2020

नक्कली मोहीका नाममा २ करोड हिनामिना

गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा
काठमाडौं, २० पुस– धनुषामा गुठी संस्थानका कर्मचारी, बिचौलिया र नक्कली मोही मिलेर मुआब्जाका नाममा २ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । धनुषा जिल्लाको साविक भरतपुर गाविसमा नेपाली सेनाका लागि अधिग्रहण गरिएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणका नाममा रकम हिनामिना गरेको भेटिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, बिचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र शत्रुधन जयसवालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
संस्थानको जनकपुर कार्यालयले दुई जना नक्कली मोही खडा गरी गैरकानुनी रूपमा मुआब्जा वितरण गरेको र त्यसमा कर्मचारी र बिचौलियाले मोटो रकम कमिसनका रूपमा लिएको अभियोगपत्रमा उल्लेख छ । अख्तियारद्वारा जारी विज्ञप्तिअनुसार नक्कली मोहीलाई मुआब्जा भुक्तानी गरेबापत पाण्डेले १९ लाख ३० हजार, आचार्यले ६ लाख ५० हजार, भुसालले ४ लाख ३० हजार रुपैयाँ घूस लिएका थिए ।बिचौलिया ठाकुरले नक्कली मोहीलाई मुआब्जा दिलाइदिएबापत पटक–पटक गरी ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ कमिसन लिएकोसमेत अख्तियारले उल्लेख गरेको छ । नक्कली मोही गायत्रीदेवी जयसवालले ०६९ जेठ १६ मा ७७ लाख र शत्रुधन जयसवालले असार २७ मा १२ लाख रुपैयाँ संस्थानबाट मुआब्जा रकम बुझेका थिए ।
अख्तियारले अभियोगपत्रमा बिचौलिया ठाकुरलाई साढे ६३ लाख, नक्कली मोही गायत्रीदेवीलाई ७६ लाख, शत्रुघनलाई १२ लाख ८१ हजार, तत्कालीन कार्यालय प्रमुख पाण्डेलाई १९ लाख ३० हजार, आचार्यलाई ६ लाख ५० हजार र भुसाललाई ४ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी डेढ वर्ष कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।
इन्स्पेक्टरविरुद्ध मुद्दा
अख्तियारले नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा, काठमाडौंका निरीक्षक (इन्स्पेक्टर) जयनेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले ठगी भएको रकम असुल गराइदिने क्रममा सेवाग्राहीसित ४९ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले पर्सा जिल्लाको साविक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतो नुनियाविरुद्ध भने सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

No comments:

Post a Comment