Friday, May 17, 2013

अब सबै सचिव सीसीटीभीको निगरानीमा

काठमाडौं, ३ जेठ– सरकारले सम्पूर्ण मन्त्रालय र निकायका सचिवहरूलाई सीसीटीभीको निगरानीमा राख्ने भएको छ । सीसीटीभीमार्फत् सरकारले सचिवहरूले के कामकारबाही गरिरहेका छन्, कसकसलाई भेट्दैछन्, कोकोस“ग बैठक गर्दैछन्, निर्णय गर्नुपर्ने फाइल टेबुलमा थुपारेर राखिएको छ वा छैन भनेर सम्पूर्ण गतिविधि नियाल्नेछ । सीसीटीभीबाट सचिवहको निगरानी आगामी असार १५ देखि सुरु हुने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले दिए ।
ती अधिकारीका सरकारका तर्फबाट मुख्यसचिवले आफ्नै कार्यकक्षमा बसेर आधुनिक सीसीटीभीबाट सबै मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरूको दिनभरको कामकारबाही र गतिविधिको प्रत्यक्ष निगरानी गर्नेछन् । मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूको कार्यकक्षमा जडान गरिने सीसीटीभी क्यामराले दिनभर कैद गर्ने दृश्य आफ्नो कार्यकक्षमा राखिने ठूलो स्क्रिन (डिस्प्ले आउलेट) बाट हेरेर निगरानी गर्नेछन् । मुख्यसचिवले आफू व्यस्त रहेको बेलाको विभिन्न मन्त्रालयका सचिवको गतिविधि सीसीटीभीमा कैद भएको दृश्य पछि फुर्सदमा ‘भिजुअल प्ले’ गरेरसमेत हेर्न सक्नेछन् । मुख्यसचिवले सीसीटीभीको डिस्प्ले आउटलेट हेरेर सचिवहरूलाई आवश्यकताअनुसार निर्देशन सक्नेछन् ।
 प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयले सबै मन्त्रालयका सचिवको कार्यकक्षमा सीसीटीभी जडान गर्न र ती सीसीटीभी क्यामराले खिच्ने कार्यालय समयावधिभरको दृश्य हेर्न मिल्ने ठूलो आकारको स्क्रिन डिस्प्ले आउटलेट मुख्यसचिवको कार्यकक्षमा राख्न टेन्डर आह्वान गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीले छनौट हुने आपूर्तिकर्ताले असार १५ भित्र सीसीटीभी क्यामरा र डिस्प्ले आउटलेट जडान गरिसक्नेछ । असार १५ देखि नै सबै सचिवको कामकारबाहीको प्रत्यक्ष निगरानी सुरु हुनेछ ।
सरकारका कामकारबाहीलाई पारदर्शी बनाउन मुख्यसचिवले सिंहदरबारभित्र सबै मन्त्रालयका सचिवहरूको कामकारबाही र गतिविधिको निगरानी गर्न सीसीटीभी जडान गर्न लागिएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । ‘सरकारका समपूर्ण कामकारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउन सबै मन्त्रालयका सचिवको कार्यकक्षमा सीसीटीभी जडान गर्न लागिएको छ । सीसीटीभी जडान भएपछि मुख्यसचिवले आफ्नै कार्यकक्षमा बसेर सबै सचिवको कामकारबाहीको अनगुमन गर्नुहुनेछ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सूर्य सिलवालले भने ।
सुरक्षाका लागि सिंहदरबार परिसर र प्रधानमन्त्री कार्यालयको बाहिर राखिएको सीसीटीभीभन्दा मुख्यसचिव र सचिवहरूको कार्यकक्षमा जडान गरिने सीसीटीभी आधुनिक प्रविधिको हुनेछ । सिंहदरबार परिसरमा जडान गरिएको साधारण खालको सीसीटीभी हो भने मुख्यसचिव र सचिवहरूको कार्यकक्षमा भने आधुनिक प्रविधिको इन्टरनेट प्रोटोकलमा आधारित सीसीटीभी क्यामरा जडान गरिनेछ ।
पूर्वप्रशासकहरू भने सीसीटीभीमार्फत् सरकारले मुख्यसचिवमार्फत् सचिवहरूको कामकारबाहीमा प्रत्यक्ष निगरानी राख्दा मन्त्रालयहरूमा प्रधानमन्त्रीको नियन्त्रण र हस्तक्षेप बढ्ने भएकाले मन्त्रीहरू आफ्ना मन्त्रालयप्रति उत्तरदायी नहुने स्थिति आउने र त्यसले सरकारकै कामकारबाहीमा त्यसले नकारात्मक असर पर्ने बताउ“छन् । मुख्यसचिव सचिवहरूको हाकिम नभई समन्वयकर्तामात्र भएकाले उनीमार्फत् प्रत्यक्ष निगरानी गर्नु राम्रो नहुने भनाइ उनीहरूको छ ।
‘मुख्यसचिव समानहरू (सचिवहरू) मध्ये पहिलो हुन्, हाकिम होइनन् । सरकारका तर्फबाट मुख्यसचिवले सबै सचिवको कामकारबाहीको निगरानी गर्दा मन्त्रालयहरूमा प्रधानमन्त्रीको हस्तक्षेप बढ्छ, हामीले अभ्यास गर्दै आएको परम्पराअनुसार हरेक मन्त्रालयको कामकारबाहीमा मन्त्री नै जवाफदेही हो । मुख्यसचिवमार्फत् प्रधानमन्त्रीको नियन्त्रण बढेपछि मन्त्रीहरू आ–आफ्नो मन्त्रालयको उत्तरदायित्वबाट पन्छिन् । त्यसले गर्दा सरकारकै समग्र कामकारबाहीमा नकारात्मक असर पर्छ’ पूर्वसचिव उमेश मैनालीले भने ।
सरकारी एक अधिकारीले मुख्यसचिवले सचिवहरूको कामकारबाही र गतिविधिको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था संसारमा कही“ पनि नरहेको उल्लेख गर्दै सचिवको कार्यकक्षमा सीसीटीभी राख्दैमा सरकारका कामकारबाही पारदर्शी नहुने बताए । उनले अरू मुलुकमा आपराधिक घटना बढी हुने र बैंकहरूमा सुरक्षा प्रयोजनका लागिमात्र सीसीटीभी राख्ने गरिएको उल्लेख गरे ।
ती अधिकारीका अनुसार सचिवको कुनै गोप्यता पनि नरहने गरी निगरानीमा राख्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हो । सीसीटीभी नराखेर पनि सचिवको कामकारबाही र प्रभावकारिताको मूल्यांकन गर्न र बढी जिम्मेवार बनाउन सकिन्छ, त्यसका लागि सीसीटीभी राख्नुपर्दैन ।

No comments:

Post a Comment