Monday, May 6, 2013

कार्की, आचार्य र यमी प्रमुखमा सिफारिस

काठमाडौं, २३ वैसाख– संवैधानिक परिषदले तीन संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकको कार्यालय र लोकसेवा आयोगमा लामो समयदेखि रिक्त प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
परिषदको आइतबार बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्की, महालेखा परिक्षकमा पूर्वअर्थसचिव भानुप्रसाद आचार्य र लोकसेवा आयोगको अध्यक्षमा कयोंदेवी यमीलाई नियुक्ति गर्न सिफारिस गरेको हो । यमी लोकसेवामा कार्यवाहक अध्यक्ष थिइन् ।
महालेखा परिक्षक र अख्तियार २०६३ देखि र लोकसेवा आयोग २०६६ देखि नेतृत्वविहीन थिए । परिषदले लोकसेवा आयोगमा रिक्त दुई सदस्य, अख्तियारमा रिक्त तीन सदस्यमा भने नियुक्तिका लागि सिफारिस गरेन । राष्ट्रपतिले परिषदको सिफारिसमा ती तीन जनालाई नियुक्त गरेमा अख्तियारमा तीन वर्षअघि आयुक्त नियुक्त भए पनि सपथग्रहण नपाएकाले पद बहाली गर्न नपाएका पूर्वडीआईजी केशव बरालले कार्यभार सम्हाल्न पाउनेछन् ।
संवैधानिक निकायका प्रमुखले प्रधानन्यायाधीशसमक्ष र आयुक्तले प्रमुख आयुक्तसमक्ष सपथ खाएपछिमात्र पद बहाली हुने संवैधानिक व्यवस्था छ । त्यही संवैधानिक व्यवस्थाका कारण प्रमुख आयुक्त नभएकाले सपथग्रहण गर्न नपाएर बरालले पदबहाली गर्न नपाएका हुन् । प्रमुख आयुक्त नियुक्ति भएपछि उनीसमक्ष सपथ खाएर बरालले आयुक्तका रूपमा कार्यभार सुरु गर्न पाउनेछन् ।


No comments:

Post a Comment