Thursday, May 30, 2013

मेलम्चीको सुरुङ निर्माण असारमा सुरु हुने

काठमाडौं, १६ जेठ– काकाकुल राजधानीको एकमात्र आशाको केन्द्र मेलम्ची खानेपानी आयोजनाको सबभन्दा महत्वपूर्ण संरचना मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङमार्गको निर्माण आगामी असारदेखि सुरु हुने भएको छ ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले सोमबार सुरुङ निर्माणका लागि प्राविधिक प्रस्तावबाट छानिएका दुई कम्पनीको आर्थिक प्रस्ताव खोली ठेकेदार छनौट गर्ने भएको छ । जसले कम रकम प्रस्ताव गरेको छ, त्यही कम्पनीले मेलम्ची खोलामा इन्टेक (बा“ध) बनाई काठमाडौंको सुन्दरीजलसम्म सुरुङ निर्माणको ठेक्का पाउनेछ । साढे २७ किमी सुरुङमध्ये २१ किमीमात्र खन्न बा“की छ । उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना सरकारको छ ।
सुरुङ निर्माणको प्रमुख दाता एसियाली विकास बैंक (एडीबी) ले दुवै कम्पनीको प्रस्ताव हेरी सहमति दिएपछि समितिले ठेकेदार छनौट गर्न लागेको हो । एडीबीको सहयोगमा सञ्चालित आयोजनामा ठेकेदार छनौटमा उसको अनिवार्य सहमति लिनुपर्छ । सुरुङ निर्माण गर्न ठेक्का हालेका कम्पनीमध्ये प्राविधिक प्रस्ताव खोल्दा चिनिया“ कम्पनी सिनो हाइड्रो र इटालीको सीएमसी छानिएका छन् ।
समितिले ती दुई कम्पनीको सोमबार आर्थिक प्रस्ताव खोल्नेछ,  सुरुङ निर्माणका लागि कम रकम कबोल गरेको कम्पनी छनौट हुने जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले दिए ।
उनका अनुसार छनौट भएको कम्पनीसित असारभित्रै ठेक्का सम्झौता हुन्छ । असार मसान्तसम्ममा सुरुङ निर्माण कार्य सुरु हुनेछ । ठेक्का सम्झौता सुरु भएको ढिलोमा ३६ महिना अर्थात् सन् २०७३ को असारभित्र सम्पन्न गर्नुपर्ने समयसीमा ठेकेदारलाई दिइनेछ ।
आयोजनाले सुरुङ मार्ग निर्माण कार्य निर्धारित समयभन्दा पहिले सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने भएको छ । ठेकेदारले जति दिन पहिले सुरुङ निर्माण कार्य सम्पन्न गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ०.१ प्रतिशतका दरले बोनस आयोजनाले दिनेछ ।
दुई महिनाअघि नै ठेकेदार छनौट गरिसक्ने लक्ष्य थियो । तर, एडीबीले सहमति दिन ढिलाइ गरेकाले दुई महिनापछि पुगेको हो । सन् २००९ मा चिनिया“ ठेकेदार चाइना फिफ्टिन रेल्वे ब्युरोलाई मेलम्चीको सुरुङको निर्माणको ठेक्का दिंदा सन् २०१३ को सेप्टेम्बरमा राजधानीमा पानी ल्याइसक्ने लक्ष्य राखिएको थियो । तर, चिनिया“ ठेकेदारले झन्डै चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेका कारण सरकारले उससितको ठेक्का तोडी पुनः दोस्रोपटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्षपछि धकेलिएको हो ।
मेलम्चीदेखि सुरुङबाट सुन्दरीजलसम्म ल्याइने पानी प्रशोधन गर्न बनाइने दोस्रो ठूलो संरचनाको निर्माण भने जापानी सहयोग नियोग (जाइका) का कारण कहिले सुरु हुने अनिश्चित रहेको जानकारी स्रोतले दिएको छ ।
आयोजनाले सुन्दरीजलमा पानी प्रशोधन संरचना (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्न गत मंसिरमा नै टेन्डर हालेका कम्पनीहरूको प्राविधिक तथा आर्थिक प्रस्ताव खोली जाइकामा पठाए पनि हालसम्म सहमति नआएको जानकारी स्रोतले दिएका छन् । उसले कहिलेसम्म सहमति दिन्छ, कुनै जानकारी नआएकोसमेत स्रोतले उल्लेख गरेको छ । पानी प्रशोधन संरचना निर्माणमा जाइकाको अनुदान सहयोग छ ।
अन्तिम चरणको टेन्डर प्रक्रियामा प्रशोधन संरचना निर्माणका लागि चीनको सीडब्लुई, अस्ट्रियाको कोइबाक र जापानको हिटाची कम्पनी छनौट भएका छन् । जाइकाको सहमति आउनासाथ आयोजनाले ती तीनमध्ये कम रकम कबोल गरेको र प्राविधिक प्रस्तावसमेत राम्रो भएको कम्पनीलाई प्रशोधन संरचना निर्माण गर्न दिनेछ । सुरुङ निर्माण हु“दासम्म प्रशोधन संरचनासमेत बनाइसक्ने योजना आयोजनाको छ । त्यहा“ प्रशोधन हुने पानी पाइपमार्फत् राजधानीको खानेपानी प्रणालीमा जोडी वितरण गरिनेछ ।

No comments:

Post a Comment