Monday, May 20, 2013

फास्ट ट्रयाकसहितका तीन आयोजना प्रमुखको सरुवा

राष्ट्रिय गौरवको मध्यपहाडीको दुवै खण्डमा कामु प्रमुख
काठमाडौं, ६ जेठ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले राष्ट्रिय गौरवका तीन आयोजना प्रमुखसहित उपसचिवसम्मका एक दर्जन अधिकारीको सरुवा गरेका छन् । पन्तले मन्त्रालयस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेका हुन् ।
मन्त्रालयले सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर) प्रमिला श्रेष्ठलाई राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) को आयोजना प्रमुखमा सरुवा गरेको छ । श्रेष्ठ राष्ट्रिय गौरवको आयोजनामा पहिलो महिला प्रमुख भएकी छन् ।
श्रेष्ठलाई सडक विभागको सम्पत्ति व्यवस्थापन महाशाखा प्रमुखबाट फास्ट ट्रयाक आयोजनामा सारिएको हो । फास्ट ट्रयाक आयोजनाका कायममुकायम प्रमुख राजेन्द्र शर्मालाई सडक विभागको एडीबी सडक आयोजना महाशाखामा सरुवा गरिएको छ ।
फास्ट ट्रयाकमा कन्फर्म प्रमुख ल्याइए पनि अर्को राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको दुवै खण्डमा उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) लाई कामु आयोवना प्रमुखको जिम्मेवारी दिइएको छ ।
मध्यमहाडी लोकमार्ग पश्चिम खण्ड आयोजनाका कन्फर्म प्रमुख गोपालप्रसाद सिग्देललाई सरुवा गरी सिनियर डिभिजनल इन्जिनियर बलराम मिश्रलाई कामु प्रमुख बनाइएको छ । मिश्र मध्यपहाडी लोकमार्गकै पूर्वी आयोजनामा कामु प्रमुख थिए । सिग्देललाई सडक विभागको सम्पत्ति व्यवस्थापन महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।
कन्फर्म प्रमुखलाई हटाएर राष्ट्रिय गौरवको मध्यपहाडीको पूर्वी र पश्चिम दुवै खण्डमा कामु आयोजना प्रमुख राखेर भौतिक पूर्वाधारमन्त्रालयले राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमप्रति आफू गम्भीर नरहेको सन्देश दिएको टिप्पणी मन्त्रालयकै अधिकारीले गरेका छन् ।
यातायात विभागमा ढकाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव सुदर्शन ढकाललाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । यातायात विभागका यसअघिका महानिर्देशक शरदचन्द्र पौडेल एक महिनाअघि अध्यागमन विभागमा सरुवा भएपछि रिक्त पदमा ढकाललाई लगिएको हो । उनी सहकारी विभागको महानिर्देशकबाट सरुवा भएर भौतिक पूर्वाधार मन्त्रालयमा आएका हुन् ।





No comments:

Post a Comment