Friday, November 1, 2019

सामाजिक सुरक्षा कोषमा दर्ता हुन एक महिनाको समय थप

काठमाडौं, १५ कात्तिक– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकरण (दर्ता) हुन थप एक महिनाको समयसीमा तोकेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी एक महिनाभित्र कोषमा सूचीकरण नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
‘यो सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सम्पूर्ण रोजगारदाता र योगदानकर्तालाई अनिवार्य रूपमा कोषमा आवद्ध हुन जानकारी गराइन्छ’ सूचनामा भनिएको छ– ‘अन्यथा कानुनबमोजिम कारवाही हुनेछ ।’
सरकारले यसअघि असोजभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठान र रोजगारदाताहरूलाई  कोषमा सूचीकरण हुन आह्वान गरेको थियो।अपेक्षाकृत रूपमा औद्योगिक प्रतिष्ठान र रोजगारदाता कम्पनीहरू कोषमा सूचीकरण हुन नआएपछि मन्त्रालयले थप एक महिनाको समय दिएको जानकारी मन्त्रालयका अधिकारीले दिए ।
कोषमा हालसम्म ८ हजार ८ सय १८ वटा रोजगारदाता कम्पनी सूचीकृत भएका छन् । कोषमा योगदान गर्नेहरूको संख्या १ लाख ९ सय ६८ जना पुगेको जानकारी मन्त्रालयले दिएको छ । सरकारले सम्पूर्ण श्रमिकहरूलाई पेन्सन, उपचार खर्च, अशक्त भत्तालगायतका सुविधा दिने उद्धेश्य राखी गत साउन १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।


No comments:

Post a Comment