Wednesday, November 6, 2019

‘पूर्वस्वीकृतिबिना कामदारसित रकम नअसुल’

काठमाडौं, १९ कात्तिक– वैदेशिक रोजगार विभागले मलेसियामा रोजगारीका लागि पठाउने नाममा पूर्वस्वीकृतिलगायत प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ का नाममा कामदारसँग रकम नअसुल्न निर्देशन दिएको छ ।
श्रम कार्यालय ताहाचलबाट हालसम्म करिब १ हजार ८ सय जनाले मात्र पूर्वस्वीकृति लिएको तर मलेसिया पठाउने नाममा झन्डै एक लाखभन्दा बढी कामदारबाट अवैध रूपमा स्वास्थ्य परीक्षण तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा रकम असुल भइरहेको पाइएको उल्लेख गर्दै विभागले त्यसरी रकम असुल नगर्न निर्देशन दिएको हो ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको बताएको छ । कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउनसमेत सचेत गराएको छ ।
विभागले स्वास्थ्य परीक्षण तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा कामदारसँग लिइसकेको रकम फिर्ता गर्नसमेत सम्बन्धित म्यानपावर र स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । पूर्वस्वीकृति लिई विज्ञापन गरेर छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण, इमिग्रेसन सेक्युरिटी क्लियरेन्सलगायत प्रक्रियामा सहभागी गराउनु अनुचित हुनेसमेत सूचनामा उल्लेख छ ।
विभागले मलेसिया जाने तयारीमा रहेका कामदारहरूलाई पूर्वस्वीकृतिबमोजिम विज्ञापन भई छनोट नहुँदासम्म स्वास्थ्य परीक्षण तथा इमिग्रेसन सेक्युरिटी क्लियरेन्सलगायत प्रक्रियामा सहभागी नहुनसमेत सूचित गरेको छ ।

No comments:

Post a Comment