Thursday, November 14, 2019

इन्जिनियर र प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडौं, २७ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सन्तोषकुमार चौधरी र प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका इन्जिनियर चौधरीले इ–बिडिङसम्बन्धी तालिमको नक्कली प्रमाणपत्र र डोटीको श्री कफल कटेश्वर विद्यालयका प्रधानाध्यापक रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएपछि दुवै जना सेवाबाट निलम्बित भएका छन् ।
यसैगरी अख्तियारले स्रोत नखुलेको ६८ हजार रुपैयाँसहित कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई पक्राउ गरेको छ । गोदामबाट लिलाम गरेको धानको रकम दाखिला नगरी हिनामिना गरेको तथा कुमार र महतोको साथबाट स्रोत नखुलेको ६८ हजार रुपैयाँ भेटिएकाले दुवैलाई नियन्त्रणमा लिई छानबिन सुरु गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।

No comments:

Post a Comment