Thursday, November 28, 2019

टुटल र पठाओलाई चल्न देऊ : यातायातमन्त्री

काठमाडौं, ११ मंसिर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले निजी मोटरसाइकलमा यात्रुलाई सेवा दिंदै आएका टुटल र पठाओको सेवालाई यथावत रूपमा चल्न दिन निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई बुधबार मन्त्रालयमा बोलाई लामो समयदेखि सञ्चालनमा रहेको सेवा रोकेकामा असन्तुष्टि व्यक्त गर्दै टुटल र पठाओलाई यथावत रूपमा चल्न निर्देशन दिएको जानकारी मन्त्रालय स्रोतले दिएको छ ।
विभागले गत साता सूचना जारी गरी ‘निजी सवारी यातायत सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था यातायात व्यवस्था ऐन, २०४८ मा रहेको उल्लेख गर्दै टुटल र पठाओको सेवा रोक्न उर्दी जारी गर्दै सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।
स्रोतका अनुसार मन्त्री नेम्वाङले टुटल र पठाओजस्ता सेवालाई वैधानिक रूपमा चल्न दिनका लागि यातायात व्यवस्था ऐनमा आवश्यक संशोधन प्रक्रिया अघि बढाउनसमेत मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले विभागलाई तत्कालका लागि कार्यविधि÷निर्देशिका बनाएर भए पनि टुटल र पठाओका सेवा सञ्चालन गर्न दिन निर्देशन दिए ।

No comments:

Post a Comment