Wednesday, November 27, 2019

पत्रकार कसजू रहेनन्

काठमाडौं, १० मंसिर– पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजूको मंगलबार निधन भएको छ । मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित कसजूको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
निमोनियाका कारण गम्भीर बिरामी भएपछि उनलाई कात्तिक १९ मा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको रिडीमा २००४ सालमा जन्मेका कसजूका श्रीमती र तीन छोरा छन् । उनी राष्ट्रिय सूचना आयोगका पहिलो अध्यक्ष हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) मा सञ्चालक समिति सदस्यसमेत भएका थिए ।
कसजू मुलुकमा ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता मानिन्छन् । उनले देउराली पत्रिकासमेत प्रकाशन गरेका थिए । कसजूले पत्रकारिता र बाल साहित्यका माध्यमबाट बालबालिकालाई कविता र कथा लेख्न सिकाउन योगदान गरेका थिए ।
उनका दुई सयभन्दा बढी बालकथा र बाल साहित्यसम्बन्धी कृति प्रकाशित छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी र प्रेस युनियनलगायत सञ्चारकर्मीहरूका संघसंगठनले विज्ञप्ति जारी गरी कसजूको निधनप्रति शोक व्यक्त गरेका छन् । ती संगठनले कसजूको निधनबाट पत्रकारिता क्षेत्रले अनुभवी पत्रकार गुमाएको टिप्पणी गरेका छन् ।

No comments:

Post a Comment