Tuesday, November 19, 2019

त्रिविबाटै बन्यो नक्कली प्रमाणपत्र !

काठमाडौं, १ मंसिर– त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो ।
अख्तियारका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाइदिएका हुन् । पोखरेल सोही प्रमाणपत्रका आधारमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुका साथै बढुवासमेत भएका थिए ।
थपलियाले नक्कली शैक्षिक प्रमाणपत्र जारी गरेको र गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश गरी बढुवासमेत भएको पुष्टि भएकाले दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । थपलियाले गलत मनसायका साथ नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको समेत अख्तियारले उल्लेख गरेको छ ।
यसैगरी अख्तियारले मालपोत कार्यालय, पर्साका तत्कालीन फाँटवाला मदनप्रसाद गुप्ताले ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । छानबिनबाट गुप्ताले जग्गाको लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको, लिखित रजिस्ट्रेसनमा थैली रकम घटाई करिब ७८ लाख राजस्व हिनामिना गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी अख्तियारले अस्थायी प्रहरी पोस्ट, कठुधार महोत्तरीका प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध समेत सोमबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौधरीले भारतीय सीमा बजारबाट सामान ल्याउन सहज गरिदिने नाममा सेवाग्राहीसित घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment