Saturday, November 16, 2019

घूस लेनदेनमा ५ पक्राउ, चार जनाविरुद्ध मुद्दा

काठमाडौं, २८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयं मोटरसाइकल काटमाठौंमा घूस लेनदेनमा संलग्न शाखा अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले बुधबार यातायात कार्यालयमा छापा मारी मोटरसाइकल खरिदबिक्रीको रजिस्ट्रेसन पास गरिदिने क्रममा ३ हजार रुपैयाँका दरले घूस लेनदेन गरिरहेका बेला उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामा यातायात कार्यालयका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधिहरू किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी छन् ।
रिकन्डिसन हाउसका प्रतिनिधिहरूमार्फत् मोटरसाइकल पास गर्न सहज गरिदिने भनी लेनदेन गरिरहेका बेला उनीहरू घूस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई अख्तियारको हिरासतमा राखी छानबिन अगाडि बढाइएको छ ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको मोही नामसारी गर्ने क्रममा मिश्र र चौधरीले सेवाग्राहीसित घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी अख्तियारले इन्जिनियर सन्तोषकुमार चौधरी र प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका इन्जिनियर चौधरीले इ–बिडिङसम्बन्धी तालिमको नक्कली प्रमाणपत्र र डोटीको श्री कफल कटेश्वर विद्यालयका प्रधानाध्यापक रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएपछि दुवै जना सेवाबाट निलम्बित भएका छन् ।
यसैगरी अख्तियारले स्रोत नखुलेको ६८ हजार रुपैयाँसहित कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई पक्राउ गरेको छ । गोदामबाट लिलाम गरेको धानको रकम दाखिला नगरी हिनामिना गरेको तथा कुमार र महतोको साथबाट स्रोत नखुलेको ६८ हजार रुपैयाँ भेटिएकाले दुवैलाई नियन्त्रणमा लिई छानबिन सुरु गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।

No comments:

Post a Comment