Friday, November 8, 2019

देउवाद्वारा भारतीय राजदूतसित नयाँ नक्साबारे आपत्ति प्रकट

काठमाडौं, २१ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकामा भारतीय सरकारसमक्ष आपत्ति जनाएका छन् ।
सभापति देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीलाई फोन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणप्रति आपत्ति जनाएका हुन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा देउवाले ‘भारतको नयाँ नक्साबारेमा बिहीबार भारतीय राजदुत पुरीसँग टेलिफोन संवाद गरेको र कालापानी तथा लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको’ उल्लेख छ ।
कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा आफ्नो प्रस्ट अडान रहेको उल्लेख गर्दै नेपाली भूमिमाथि हुने कुनै पनि किसिमको अतिक्रमण पार्टीलाई स्वीकार्य नहुने जनाएको छ ।
‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र हाम्रा कुनै पनि भूमिमाथी हुने कुनै पनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ कांग्रेसको विज्ञप्तिमा छ ।
कांग्रेसले नेपाली भूभाग अतिक्रमण भएकोजस्तो महत्वपूर्ण सवालमा  समग्र मुलुकको साझा दृष्टिकोण बनाई कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकारलाई आग्रह गरेको छ । ‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण छ’ विज्ञप्तिमा छ ।
कांग्रेसको विज्ञप्ति
कालापानी र लिपुलेकका सन्दर्भमा !
(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्व्विदितै छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।
(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ । नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको छ ।

(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ ।
जय नेपाल !

No comments:

Post a Comment