Wednesday, June 8, 2011

कांग्रेसमा भातृ संस्थालाई लिएर पुनः विवाद

कांग्रेस संस्थापनद्वारा तरुण दलको अधिवेशन रोक्न निर्देशन

काठमाडौं, २५ जेठ- नेपाली कांग्रेसमा भातृ संगठनलाई लिएर पुनः मतभेद बढेको छ । भातृ संस्था नेपाल विद्यार्थी संगठनको अध्यक्ष प्रदीप पौडेलसहित पूरै केन्द्रीय समितिलाई राजिनामा दिन बाध्य पारेको कांग्रेसको संस्थापन पक्षले अर्को भातृ संगठन तरुण दललाई केन्द्रीय अधिवेशन रोक्न निर्देशन दिएपछि पार्टीमा मतभेद बढेको हो । भातृ संस्थालाई लिएर विवाद उत्पन्न भएपछि नेविसंघपछि तरुण दलको जेठ मसान्तभित्र घोषित केन्द्रीय महाधिवेशन नहुने निश्चित भएको छ ।
पार्टीको भातृ संगठन हेर्ने जिम्मेवारी पाएको समितिमा रहेका कांग्रेस महामन्त्री प्रकाशमान िसंहले तरुण दलको केन्द्रीय नेतृत्वलाई बुधबार पत्र पठाई दलको अधिवेशन रोक्न निर्देशन दिएका छन् । उनले दलको केन्द्रदेखि तल्लो तहसम्म अधिवेशन नबोलाउन कार्यसमिति विभाग समिति गठन र पुनर्गठन तथा नयाँ पदाधिकारी मनोनयन नगर्न निर्देशन दिएका हुन् ।
कांग्रेस महामन्त्री प्रकाशमान िसंहले भातृ संस्थाका बारेमा के गर्ने भन्ने विषय पार्टीको केन्द्रीय समितिद्वारा गठित समितिमा विचाराधीन रहेकाले तरुण दललाई गठन विघटन र अधिवेशन गर्नेलगायतका कार्य नगर्न निर्देशन दिइएको दाबी गरे । आफ्नो पक्षको अध्यक्ष रहेको तरुण दललाई केन्द्रीय अधिवेशन गर्न नदिने संस्थापनको निर्देशनपछि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर पक्ष असन्तुष्ट भएको छ ।
तरुण दलको केन्द्रीय कार्यसमितिको नयाँ सचिवमा उत्तम चापागाईंलाई मनोनीत गरिएको लगत्तै कांग्रेसको केन्द्रले घोषित जिल्ला तथा केन्द्रीय महाधिवेशन केन्द्रदेखि जिल्ला तहसम्मको कार्यसमिति विभागको गठन र पुनगर्ठन रोक्न निर्देश गरेको हो । कांग्रेसको विवादित तरुण दलको केन्द्रीय समितिको बहुमतले आगामी जेठको मसान्तभित्र दलको केन्द्रीय अधिवेशन गर्ने मिति तय गरिदिन तीन महिनाअघि पार्टीको केन्द्रीय समितिले आग्रह गरेको थियो ।
पार्टीले दलको अधिवेशनका बारेमा कुनै निर्णय नगर्दै अध्यक्ष महेन्द्र यादव पक्षले केन्द्रीय विभाग समितिको गठन पुनर्गठन र जिल्ला अधिवेशनको मिति तय गर्न थालेपछि पार्टीले हस्तक्षेप गरी महाधिवेशन नगर्न पार्टीको संस्थापनको तर्फबाट महामन्त्री िसंहले निर्देशन दिएका हुन् । यादव नेतृत्वको तरुण दलले यसअघि केन्द्रीय विभाग तथा समिति पुनर्गठन गर्दै जेठ मसान्तभित्र अधिवेशन गर्ने तयारी गरिरहेको थियो । उसले विभिन्न जिल्लामा दलको अधिवेशनको मितिसमेत तय गरेको थियो ।
महाधिवेशनको मिति तोकेपछि अध्यक्ष यादवले केन्द्रीय कार्यसमिति र विभागमा एकलौटी मनोनयन गरेको अधिवेशन गराउनेतर्फ कुनै कार्य गर्न नसकेपछि पार्टीले हस्तक्षेप गरेको जानकारी स्रोतले दिए । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर यादव यसअघि ७५ सदस्यीय कार्यसमितिमा एक मतले बहुमतमा थिए उनको पछिल्लो कामकारबाहीका कारण उनी अहिले अल्पमतमा परेका छन् । केन्द्र्रीय समिति र विभागमा एकलौटी मनोनयन गरेको र अधिवेशन गराउने कुनै तयारी नगरेछि यादवलाई समर्थन गर्दै आएका एक दर्जन पदाधिकारी तथा सदस्य विपक्षमा उभिएपछि उनी अहिले अल्पमतमा परेका छन् ।

No comments:

Post a Comment