Wednesday, June 22, 2011

सहसचिव श्रेष्ठ बंगलादेशको राजदूत नियुक्त

काठमाडौं, ८ असार- सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिकुमार श्रेष्ठलाई बंगलादेशको राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषदको बुधबार दिउँसो बसेको बैठकले आगामी कात्तिकमा पदावधि सकिन लागेका बंगलादेशका राजदूत प्रदीपकुमार खतिवडाको ठाउँमा श्रेष्ठलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए ।
मन्त्रिपरिषदले ५८ वर्ष उमेर पुगी पाँच दिनपछि अनिवार्य अवकास पाउन लागेका सहसचिव श्रेष्ठलाई परराष्ट्रमन्त्री उपेन्द्र यादवको प्रस्तावमा राजदूत नियुक्त गरेको हो । खतिवडाको आगामी कात्तिकमा पदावधि सकिनासाथ श्रेष्ठले पद बहाली गर्नेछन् । श्रेष्ठसँग लामो समय मलेसियामा कार्यवाहक राजदूत भएको अनुभव छ ।
कुनै देशमा राजदूत पद रिक्त हुनु छ महिनाअघि नै उक्त ठाउँमा नयाँ नियुक्तिको प्रकि्रया सुरु गर्ने लोकतान्त्रिक मुलुकहरुमा अपनाइँदै आएको परम्पराअनुसार परराष्ट्र मन्त्री यादवको प्रस्तावमा खतिवडाको पदावधि सकिनु पाँच महिनाअघि नै नयाँ राजदूत नियुक्तिको प्रकि्रया सुरु गरिएको हो ।
यसअघि नेपालमा यस्तो परम्परा थिएन । सरकारले श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि बिहीबार नै संसद सचिवालयमा पठाउने भएको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सरकारले उनको नाम एगि्रमोका लागि बंगलादेश पठाइनेछ ।

No comments:

Post a Comment