Thursday, June 30, 2011

आज संवैधानिक परिषद बैठक

काठमाडौं, १६ असार- प्रधानमन्त्री झलनाथ खनालले लामो समयदेखि नेतृत्वविहीन चार संवेधानिक निकायमा नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक शुक्रबार बोलाएका छन् । संवैधानिक परिषदको अध्यक्षको हैसियतले प्रधानमन्त्रीले सबै सदस्यलाई ४८ घन्टाअगावै बुधबार दिउँसो पत्र पठाई शुक्रबार अपराह्न ५ बजेका लागि बैठक बोलाएको जानकारी उच्च अधिकारीले दिएका छन् ।
परिषदको बैठक प्रमुख चार संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग महालेखा परिक्षकको कार्यालय लोकसेवा आयोग र निर्वाचन आयोगमा रिक्त विभिन्न पदमा नियुक्तिबारे छलफल हुनेछ । माओवादी कांग्रेस र एमालेको सहमतिमा ती चारवटै निकायमा शुक्रबार नै पदाधिकारी नियुक्ति हुन सक्ने सम्भावना रहेको सरकारी स्रोतले उल्लेख गरेका छन् । प्रमुख तीन दलबीच संवैधानिक निकायका पदाधिकारी बाँडफाँडमा एक किसिमको समझदारी बनिसकेको दाबीसमेत स्रोतको छ ।
प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा प्रधानन्यायाधीश खिलराज रेग्मी सभामुख सुवास नेम्वाङ प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीले तोकेका तीन मन्त्री सदस्य छन् । प्रधानमन्त्रीले उपप्रधानमन्त्री कृष्णबहादुर महरा रक्षा मन्त्री विष्णु पौडेल र वातावरण मन्त्री सुनिल मानन्धरलाई परिषदको सदस्य तोकेका छन् ।
अख्तियार महालेखा लोकसेवा र निर्वाचन आयोग चारवटै प्रमुखविहीन छन् । अझ अख्तियारमा प्रमुख आयुक्तमात्र होइन सबै आयुक्त पद रिक्त छन् । अख्तियारमा २०६३ कात्तिक १७ देखि प्रमुख र दुई आयुक्त पद रिक्त भएका थिए भने २०६६ पुसदेखि अख्तियारका सबै आयुक्त पद रिक्त भएका हुन् । महालेखामा २०६३ पुस निर्वाचन आयोग र लोकसेवा आयोगमा ०६५ देखि प्रमुख पद रिक्त छन् ।

No comments:

Post a Comment