Monday, June 20, 2011

वेस्ट सेतीद्वारा लगानी जुटाउन छ महिना समय माग

काठमाडौं, ६ असार- सोह्र वर्ष भइसक्ता पनि आर्थिक स्रोतको अभावले पश्चिम सेती आयोजनाको निर्माण कार्य अघि बढाउन नसकेको वेस्ट सेती हाइड्रो पावर लिमिटेडले लगानी जुटाउनका लागि आफूलाई थप छ महिनाको समय दिन सरकारसित माग गरेको छ ।
सरकारका तर्फबाट विद्युत् विकास विभागले सोधेको १५ दिने दोस्रो स्पष्टीकरणको जवाफमा वेस्ट सेती हाइड्रो पावर लिमिटेडले साझेदार खोजेर ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माणका लागि लगानी जुटाउन चिनियाँ कम्पनी सीडब्लूसीसित कुराकानी भइरहेको दाबी गरेको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार वेस्ट सेती हाइड्रो पावरले सीडब्लूसीसितको कुराकानी सकारात्मक रुपमा अघि बढेको दाबीसमेत स्पष्टीकरण पत्रमा गरेको छ । लाइसेन्स लिएको १६ वर्षमा निर्माण कार्य सुरु गर्न नसेकको वेस्ट सेती हाइड्रो पावर लिमिटेडलाई १५ दिनभित्र आर्थिक स्रोत जुटाउन नसकेकामा उसले दिइएको लाइसेन्स किन खारेज नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण पत्रमा वेस्ट सेती हाइड्रो पावर लिमिटेडले एसियाली विकास बैंकले पश्चिम सेतीबाट हात झिकेपछि ऊर्जा मन्त्रालयले लगानी जुटाउने वातावरण बनाउन सहयोग नगरेको आफूसित ऊर्जा विकास सम्झौताअनुसार कार्य नगरेको आरोपसमेत लगाएको छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको चीन भ्रमणको बेलामा वेस्ट सेती हाइड्रो पावरको प्रस्तावक अस्ट्रेलियाई कम्पनी स्मेकले चिनियाँ कम्पनी सीडब्लूसीसित पश्चिम सेतीमा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सीडब्लूसीले पश्चिम सेतीको इक्विटीमा ५१ प्रतिशत लगानी गर्ने र चिनियाँ एक्जिम बैंकले ऋण लगानी गर्ने समझदारीमा उल्लेख थियो । तर समझदारीअनुसार एक वर्षमा वेस्ट सेती हाइड्रो पावर लिमिटेडले लगानी जुटाउन नसकेपछि उसको लाइसेन्स खारेज गर्नका लागि ऊर्जा मन्त्रालयले दुई÷दुईपटक स्पष्टीकरण सोधिसकेको हो ।

No comments:

Post a Comment