Thursday, June 30, 2011

साउन १ देखि पियनदेखि मुख्यसचिव सबै एउटै पोशाकमा

काठमाडौं, १६ असार- अब धेरै दिन प्रतीक्षा गर्नुपर्दैन सम्पूर्ण सरकारी कार्यालयमा पियन हुन् या प्रमुख सबै एउटै पोशाकमा देखिनेछन् । सरकारले निजामती कर्मचारीमा नेपाली सेना र प्रहरीमा जस्तै आगामी साउन १ देखि अनिवार्य रुपमा 'ड्रेस कोड' लागू गर्दैछ । ड्रेस कोड सुरु भएपछि निजामती प्रशासनको उच्च पद मुख्यसचिव या सचिव हुन् या तल्लो तह सवारी चालक तथा कार्यालय सहयोगी सबै जना कार्यालयमा एउटै पोशाकमा कार्य गर्नेछन् ।
मन्त्रिपरिषदले हालै ७८ हजार निजामती कर्मचारीका लागि लागू हुने पोशाकको किसिम र रंग तय गरेको छ । मन्त्रिपरिषदको निर्णयको लगत्तै सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै सरकारी कार्यालयहरुलाई परिपत्र गरी सम्पूर्ण कर्मचारीलाई अनिवार्यरुपमा ड्रेस कोड पोशाक लागू गराउन निर्देशन दिएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव विनोद केसीका अनुसार परिपत्रमा पुरुष र महिला कर्मचारीका लागि तय गरिएको पोशाकको किसिम र रंगसमेत उल्लेख गरिएको छ ।
कर्मचारीले पोशाक खरिद गर्न तीन महिनाअघि नै पोशाक भत्ता लिइसकेका छन् । सरकारले गत वैशाख १ देखि नै ड्रेस कोड लागू गर्न सबै कर्मचारीलाई गत चैत मसान्तमै साढे सात हजार रुपैयाँका दरले पोशाक भत्ता दिएको थियो । तर पोशाकको किसिम र रंग तय गर्न मन्त्रिपरिषदले बढी समय लगाएकाले ड्रेस कोड लागू गर्न थप तीन महिना अर्थात् साउन १ सम्म कुर्नुपरेको हो । सरकारले वर्षेनि कर्मचारीलाई साढे सात हजार रुपैयाँका दरले पोशाक भत्ता दिने भएको छ । सम्पूर्ण निजामती कर्मचारीमा ड्रेस कोड लागू गर्दा वर्षेनि ५६ करोड रुपैयाँ खर्च हुने जानकारी सामान्यका अधिकारीले दिए ।
निजामती प्रशासनमा रहेको सानो÷ठूलो तहको भेद हटाएर सम्पूर्ण कर्मचारीको मनोबल बढाउन र उनीहरुलाई राज्यको अनुशासन एवं संयममा बस्न प्रेरित गर्न नयाँ आर्थिक वर्षदेखि ड्रेस कोड लागू गरिएको जानकारी सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले दिए । ती अधिकारीका अनुसार ड्रेस कोड लागू भएपछि कार्यालयमा बस्दामात्र होइन अफिस आउँदा÷जाँदासमेत निजामती कर्मचारी हो भनेर सबैले चिन्ने भएकाले उनीहरुलाई पोशाकले मर्यादामा बस्न बाध्य पार्नेछ ।
सरकारले सबै निजामती कर्मचारी संघ÷संगठनसित परामर्श गरी कर्मचारीहरुलाई हिमाल तराई र पहाडको हावापानी सुहाउँदो पुरुषलाई दुई र महिलालाई तीन किसिमको लचिलो ड्रेस कोड तय गरेको जानकारी सामान्यका प्रवक्ता केसीले दिए । सरकारले तय गरेको ड्रेस कोडअनुसार पुरुष कर्मचारीले साउन १ देखि राष्ट्रिय पोशाक दौरा सुरुवाल कोट नेपाली टोपी र कालो जुत्ता वा गाढा नीलो रंगको कोट त्यही रंगको पाइन्ट सेतो सर्ट र कालो जुत्ता अनिवार्य रुपमा लगाउनुपर्नेछ । राष्ट्रिय पोशाकको रंग भने तोकिएको छैन । राष्ट्रिय पोशाकभन्दा अर्को किसिमको पोशाक लगाउँदा कर्मचारीलाई टाई र टोपी स्वेच्छिक लगाए पनि हुने÷नलगाए पनि हुने गरिएको छ । निजामती प्रशासनमा पुरुष कर्मचारी ६५ हजार ६५ जना छन् जुन कुल कर्मचारीको ८७ दशमलव ११ प्रतिशत हो ।
महिला कर्मचारीलाई ड्रेस कोडमा कोट पाइन्ट सारी ब्लाउज वा कुर्ता सलवारमध्ये एक रोजेर लगाउन पाइने लचिलो व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई गाढा नीलो रंगको कोट त्यही रंगको पाइन्ट सेतो सर्ट र कालो जुत्ता÷स्यान्डल वा आकाशे गाढा नीलो रंगको कुर्ता गाढा बैजनी रंगको सारी र गाढा बैजनी रंगकै ब्लाउज सारीको पारी रंगको ड्रेस कोड तय गरिएको छ । महिला कर्मचारीको मागबमोजिम उनीहरुले कुर्ता सलवार लगाउन पाउने व्यवस्थासमेत गरिएको छ । ड्रेस कोडअनुसार महिला कर्मचारीले आकाशे गाढा नीलो रंगको कुर्ता गाढा बैजनी रंगको सादा सलवार र सलसमेत पोशाकका रुपमा लगाउन पाउनेछन् । निजामती प्रशासनमा महिला कर्मचारी ९ हजार ६ सय ३० जना छन् जुन कुल कर्मचारीको १२ दशमलव ८९ प्रतिशत हो ।
मुलुकको भौगोलिक विविधता र हावापानीलाई हेरेर सरकारले ड्रेस कोडलाई लचिलो बनाएको छ । जाडो समयमा कोटको सट्टामा ज्याकेट तथा र कोट तथा ज्याकेटभित्र स्वीटरसमेत लगाउन पाउने व्यवस्था गरिएको छ । बढी जाडो हुने हिमाली जिल्लामा कोटको सट्टा सोही रंगको ज्याकेट र कालो जुत्ताको सट्टा स्पोर्ट्स जुत्ता लगाउन पाउने व्यवस्थसमेता ड्रेस कोडमा गरिएको छ । मधेशमा बढी गर्मी हुने भएकाले तराईका जिल्लामा कोट अनिवार्य गरिएको छैन ।
सरकारले साताको एक दिन भने ुपोशाक होलिडेु दिएको छ । हरेक शुक्रबार कर्मचारीले आफू खुसी जस्तोसुकै पोशाक लगाउन पाउनेछन् । अरु दिनभन्दा २ घन्टा अगावै बिदा हुने दिन शुक्रबार कर्मचारीलाई बढी स्वतन्त्रताको अभ्यास गर्न दिन उक्त दिन पोशाक होलिडे गरिएको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment