Friday, June 10, 2011

एडीबीले कृषि र पूँजी विस्तार कार्यक्रमलाई करिब २ अर्ब सहयोग

काठमाडौं, २७ जेठ- एसियाली विकास बैंकले उच्च पहाडी क्षेत्रको कृषि विकास र सरकारी पूँजी बजार विस्तारका लागि साढे २ करोड अमेरिकी डलर करिब १ अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ । बैंकले उच्च पहाडी क्षेत्रमा कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना कार्यान्वयन गर्न २ करोड र सरकारी पूँजी बजार तथा पूर्वाधार क्षमता विकास सहयोग आयोजनालाई ५० लाख डलर अनुदान दिन लागेको हो ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले एडीबीबाट ती दुवै सहयोग लिन सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ । शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता गंगालात तुलाधरका अनुसार जनताको आवास कार्यक्रम पहिलो संशोधन कार्यविधि २०६८ लाई थप छलफलका सम्बन्धित समितिमा पठाउने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ ।
सचिवालयमा १२० कर्मचारी राखिने
माओवादी सेनाको रेखदेख समायोजन र पुनःस्थापना गर्ने प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समितिको सचिवालयमा १ सय १० जना कर्मचारी नियुक्त गरिने भएको छ । मन्त्रिपरिषदले विशेष समिति सचिवालयमा सेना समायोजन र पुनःस्थापन कार्यक्रमका लागि तीन महिनालाई ७२ जना शाखा अधिकृत र ४८ जना कम्युटर अधिकृतको दरबन्दी सिर्जना गरी अस्थायी नियुक्त गर्न दिने निर्णय गरेको छ ।
वैज्ञानिकलाई ३० लाख सहयोग
सरकारले वैज्ञानिक रुचित रेग्मीलाई उनले विकास गरेको प्रविधिलाई अमेरिकी प्याटेन्ट हासिल गर्नका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रेग्मीले पाइलटबिनाको जहाज र सोचअनुसार चल्ने कम्प्युटर प्रविधिको विकास गरेका छन् ।
लामिछानेलाई फिन्ल्यान्डको उच्च पदक
फिन्ल्यान्ड सरकारले नेपाल स्काउटका प्रमुख आयुक्त अध्यक्ष श्रीराम लामिछानेलाई 'नाइट फस्ट क्लास अफ द अर्डर अफ द लाइन अफ फिन्ल्यान्ड' नामक उच्च। पदक प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदले लामिछानेलाई उक्त पदक ग्रहण गर्न अनुमति दिने निर्णय गरेको छ ।

No comments:

Post a Comment