Thursday, November 3, 2011

रिक्त नै नभएको दुई एआईजी पदमा बढुवा

दुवै प्रहरीको पाँच एआईजी बढुवामा वरिष्ठता मिचियो
काठमाडौं, १७ कात्तिक- सरकारले नेपाल प्रहरीमा रिक्त नै नरहेको दुई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी पदमा डीआईजी (नायव प्रहरी महानिरीक्षक) द्वय नवराज ढकाल र भीष्म प्रसाईंलाई बढुवा गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा परिचालित नेपाल प्रहरीका लागि सामान खरिद प्रकरणमा निलम्बित एआईजीद्वय मदनकुमार खड्का र अर्जुनजंग शाहीको पदलाई विशेष पदमा सरुवा गरी ढकाल र प्रसाईंलाई बढुवा गरेको हो ।
निलम्बित व्यक्तिलाई विशेष पदमा लगेको नाममा रिक्त नै नभएको पदमा बढुवा गर्नु कानुनविपरीत भएको प्रहरी अधिकारी नै बताउँछन् । तर गृह मन्त्री निकट अधिकारीले नै भने व्यक्ति निलम्बित भए पनि पदाधिकार निलम्बित नहुने भएकाले खड्का र शाहीलाई विशेष पदमा लगी ढकाल र प्रसाईंलाई बढुवा गरिएको हो । 'व्यक्ति निलम्बित भए पनि पदाधिकार निलम्बित हुन्न दुई एआईजीले सम्पादन गर्नुपर्ने कामलाई सुचारु गर्न दुई जनाको डीआईजीको बढुवा गरिएको हो' ती अधिकारीले भने ।
नेपाल प्रहरीमा रहेका नौवटा एआईजी पद बढी भएकाले घटाउनुपर्ने आवाज प्रहरीभित्रसमेत उठिरहेका बेला गृहमन्त्री विजयकुमार गच्छदारको प्रस्तावमा मन्त्रिपरिषदले रिक्त नै नभएको दुई एआईजी पदमा बढुवा गरेको हो । विद्यमान कानुनअनुसार निलम्बित एआईजीद्वय खड्का र शाहीको पद रिक्त नै नभएको ठाउँमा दुई जनाको बढुवा हुनु गैरकानुनी भएको सरकारी अधिकारीले उल्लेख गरेका छन् । सरकारी सबै सेवामा निलम्बित व्यक्तिको पदमा बढुवा गरिन्न । निलम्बित व्यक्तिले गर्नुपर्ने काम सम्पादन गर्न कायममुकाय या निमित्तमात्र दिने तर बढुवा नगर्ने चलन छ ।
रिक्त नभएको पदमा दुई जना बढुवा गरिएका कारण सुडान घोटाला प्रकरणमा आरोपित खड्का र शाहीले सफाइ पाएर आएमा नौ एआईजी पदमा ११ जना हुन पुग्ने र थप दुई जनालाई सरकारले कहाँ राख्ने भन्ने प्रश्न उब्जने चिन्ता प्रहरी अधिकारीकै छ ।
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पाँच जना डीआईलाई एआईजीमा बढुवा गर्दा वरिष्ठताक्रमलाई समेत मिचेको छ । नेपाल प्रहरीमा सबभन्दा वरिष्ठ डीआईजी दिनकरसमसेर राणालाई छाडेर दोस्रो र तेस्रो वरियतामा रहेका ढकाल र प्रसाईंलाई सरकारले बढुवा गरेको हो ।
राणाभन्दा कार्यदक्षताका आधारमा ढकाल र प्रसाईं राम्रो भएकाले उनीहरुलाई बढुवा गरिएको दाबी गृह मन्त्री निकट स्रोतले गरेको छ । सशस्त्र प्रहरीमा समेत एआईजीमा एक जना विवादास्पद र दुई वरिष्ठलाई पन्छाएर दुई जना कनिष्ठलाई बढुवा गरेको स्रोतले उल्लेख गरेको छ । मन्त्रिपरिषद बैठकले जनआन्दोलन-२०६२÷६३ मा निर्मम दमन गरेको आरोप लागेका राई तथा दुई कनिष्ठ ऋषभदेव भट्टराई र जीवनकुमार थापालाई एआईजीमा बढुवा गरेको छ ।
स्रोतका अनुसार राईमाथि जनआन्दोलन-२०६२/६३ मा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निःशस्त्र जनतालाई ताकी ताकी गोली हानेको आरोप छ । जनआन्दोलनका क्रममा उनले निःशस्त्र सर्वसाधारणलाई ताकेर गोली हानिरहेको लाइभ तस्वीरसमेत प्रकाशित तथा प्रसारित भएको थियो । प्रहरी स्रोतले भने उक्त आरोप लागेका राईको यसअघि नै दुईपटक पदोन्नति भइसकेकाले यो तेस्रोपटकको बढुवामा प्रश्न उठाउनुको औचित्य नहुने दाबी गरेको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार वरिष्ठ डीआईजीद्वय केके तामाङ र प्रकाश ओझालाई छाडेर मन्त्रिपरिषदले चौथो र पाँचौं वरियतामा रहेका भट्टराई र थापालाई बढुवा गरेको हो । जनआन्दोलन दमनमा मुछिए पनि राई भने वरिष्ठताक्रममा पहिलो वरियतामा थिए ।
नुसन्धानको एआईजीमा थापा
सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी अतिरिक्त मुख्य अनुसन्धान निर्देशक मा गणेश थापालाई बढुवा गरेको छ । एआईजी मोती गुरुङ मुख्य अनुसन्धान निर्देशक आईजीं मा बढुवा भएपछि रिक्त पदमा थापालाई पदोन्नति गरिएको हो । थापालाई बढुवा गर्दा भने वरिष्ठताक्रम मिचिएको छैन ।
रेडियो नेपालमा पुनः शुक्ल
सरकारले रेडियो नेपाल विकास समितिको कार्यकारी निर्देशकमा पुनः दुई वर्षका लागि तपनाथ शुक्ललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले चार वर्षदेखि रेडियो नेपालको कार्यकारी निर्देशक रहेका शुक्ललाई पुनः दुई वर्षका लागि म्याद थप गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
गरिवी निवारण कोषमा नियुक्ति
सरकारले गरिवी निवारण कोषको रिक्त पाँच सदस्यमा डा. कुलबहादुर रोकाया, अखिलेश्वर दास, कमला राई, वसन्तबहादुर टेलर र दुर्गा न्यौपानेलाई नियुक्त गरेको छ ।
सार्क शिखरको कार्यक्रम तय
सरकारले कात्तिक २४ देखि मालदिभ्स हुने सार्क शिखर सम्मेलनमा प्रधानमन्त्री भट्टराईको नेतृत्वमा जाने ११ सदस्यीय टोलीको नाम तय गरेको छ । मन्त्रिपरिषदको बैठकले शिखर सम्मेलनमा मुलुकको सहभागिता ११ सदस्यीय टोलीको चयन र भ्रमण कार्यक्रमसमेत स्वीकृति गरेको छ ।

No comments:

Post a Comment