Wednesday, November 23, 2011

मन्त्री त्रिपाठीको सडक र भवनमा पनि रजाइँ

काठमाडौं, ७ मंसिर- सरकारले सडक र भवन तथा सहरी विकास विभाग र मातहतका ८ जना प्राविधिक सहसचिवको सरुवा गरेको छ । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीको प्रस्तावमा उनीहरुलाई सरुवा गरिएको हो । खानेपानी सेवातर्फ सरुवा मनोमानी गरिसकेका त्रिपाठीले आफ्नो स्वार्थपूर्ति गरी सडक र भवनमा पनि व्यापक सरुवा गरी रजाइँ गरेको उनकै मन्त्रालयका कर्मचारी बताउँछन् ।
सडक विभागका दुई नायव महानिर्देशक र मातहतका आयोजना र क्षेत्रीयका ४ जनाको सरुवा गरिएको छ । विभागको योजना हेर्ने नायव महानिर्देशक योगेन्द्र राईलाई वैदेशिक महाशाखामा सरुवा गरिएको छ । पुल आयोजना प्रमुख माधव कार्कीलाई नायव महानिर्देशकमा बढुवा गरी विभागको योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
वैदेशिक महाशाखा हेर्ने नायव महानिर्देशक हरिनाथ श्रेष्ठलाई सम्भार महाशाखामा सारिएको छ । यसअघि सम्भार महाशाखा हेर्ने नायव महानिर्देशक विष्णुवाद श्रेष्ठलाई काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक आयोजना प्रमुखमा सरुवा गरिएको छ । फास्ट ट्रयाकमा कन्फर्म प्रमुख थिएनन् ।
क्षेत्रीय सडक निर्देशनालय पश्चिमााचलका निर्देशक कीत्र्यानन्द ठाकुरलाई पुल आयोजना प्रमुखमा र क्षेत्रीय सडक निर्देशनालय सुदूर पश्चिमका निर्देशक उमेशानन्द मिश्रलाई पश्चिमााचलमा सरुवा गरिएको छ ।
सहरी विकास विभागका महानिर्देशक महेन्द्र सुब्बालाई नगर विकास समितिको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ । अघिल्लो सरकारको पालामा महानिर्देशक भएका सुब्बालाई छ महिना पनि नहुँदै सारिएको हो । विभागको महानिर्देशकमा नगर विकास समितिका अशोकनाथ उप्रेतीलाई ल्याइएको छ । ५८ वर्ष उमेर पुगी अवकास पाउन छ महिनाभन्दा कममात्र अवधि बाँकी रहेका उप्रेतीलाई पुनः महानिर्देशकमा ल्याउनुले मन्त्रीको नियतमाथि प्रश्न चिह्न उठेको सरकारी अधिकारी बताउँछन् ।

No comments:

Post a Comment