Tuesday, November 1, 2011

प्रधानमन्त्रीद्वारा मितव्ययिताको खिल्ली उडाउँदै चियापान

काठमाडौं, १५ कात्तिक- 'बालुवाटार (प्रधानमन्त्री निवास_ को मंगलबारको शुभकामना आदान-प्रदान तथा चियापानको कार्यक्रमस्थलमा त सके पो पस्नु । बरु सडकको अर्को किनारामा उभिएर एकैछिन प्रवेशद्वारको कुस्ता-कुस्ती भने हेरेर फिर्न पाइयो त्यो पनि धन्न बलियाले बाटैमा च्यापेर बिताएनन् ।' मितव्ययी प्रधानमन्त्री बाबुराम भट्टराईले दसैं तिहार र छठको अवसर पारी सरकारी निवास बालुवाटारमा आयोजना गरेको चियापानमा उपस्थित कहालीलाग्दो अव्यवस्थित भीडलाई इंगित गर्दै सामाजिक साजाल 'फेसबुक' मा पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले गरेको टिप्पणी हो यो ।
स्वदेशी सस्तो गाडी मुस्ताङ चढेको र विदेश भ्रमणमा जाँदा सस्तो हवाई टिकट इकोनोमिक क्लासमा आउजाउ गरेपछि मुलुकमा प्रधानमन्त्री भट्टराईको लोकपि्रयता बढ्नुका साथै उनको सर्वत्र प्रशंसा भएको थियो । अझ सरकारी फजुल खर्च घटाउन भट्टराई प्रधानमन्त्री हुनासाथ जारी मितव्ययिता निर्देशिकाले उनको सरकारप्रति आमजनतामा निकै ठूलो आशाको साचार जागेको थियो । त्यही कारण सर्वसाधारणले उनलाई मुलुकको मुहार फेर्ने मितव्ययी प्रधानमन्त्रीको उपमा दिन थालेका थिए । तर मंगलबार बालुवाटारमा भट्टराईद्वारा आयोजित चियापानमा निम्तालुको असंख्य भीड देखेपछि सरकारी खर्चमा मितव्ययिताप्रतिको उनको इमानदारीमाथि गम्भीर प्रश्न उब्जिएको छ ।
भट्टराई सरकारद्वारा जारी मितव्ययिता निर्देशिकामा सरकारी खर्चमा विदेशी पाहुनाबाहेक अरु कसैलाई पनि भोजभतेर र चियापान गर्न नपाइने व्यवस्था गरिएको छ । तर भट्टराईको चियापानमा आठ हजारभन्दा बढीलाई निमन्त्रणापत्र बाँडेर पाहुना बोलाइएको थियो चियापानको उपस्थिति निम्ताइएभन्दा धेरै बढी भएको बालुवाटार निकट स्रोतले उल्लेख गरेको छ ।
मितव्ययिता निर्देशिकाको दफा ५६ मा 'विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा कुनै पनि भोज भतेर नगर्ने । राजकीय भोजबाहेक अन्य भोजमा मदिराको उपयोग गर्न पाइने छैन । रिसेप्सन र हाइटीबाटै हुने भए डिनर भरसक नगर्ने । यस्ता नगरी नहुने भोजमा पनि आमन्त्रितको संख्या सकभर कम गर्नुपर्नेछ' उल्लेख छ ।
आठ हजार बढीलाई निम्ता बाँडिए पनि धेरै माओवादी कार्यकर्ता बिना कार्ड बालुवाटार प्रवेश गरेका थिए । भित्र प्रवेश गर्न निम्ता कार्ड अनिवार्य गरिएको थियो । त्यही कारण हातमा कार्ड बोकेर निम्तालुहरु बालुवाटार भित्र छिर्न तँछाडमछाड गरिरहेको रमाइलो दृश्य घन्टौंसम्म देखिएको थियो । बालुवाटार छिर्नेको लाइन आधा किलोमिटर परसम्म थियो । प्रधानमन्त्री निवासभित्र जुनसुकै ठाउँमा निम्तालुहरु खचाखच थिए ।
अव्यवस्थित ठूलो भीडका कारण निम्तालु कूटनीतिक नियोगका प्रतिनिधि र वरिष्ठ व्यक्तिमध्ये धेरैजसो प्रधानमन्त्री निवासभित्र प्रवेश गर्नै नसकी फर्केका थिए । विशिष्ट पाहुना प्रवेश गर्ने बालुवाटारको तीन नम्बर प्रवेशद्वारमा समेत स्वयंसेवक नभएको र बढी भीड भएका कारण महत्वपूर्ण व्यक्तिहरु चियापानमा सहभागी नभई फर्केका थिए । प्रधानमन्त्री भट्टराईसम्म पुगेर बधाई दिन पाहुनाहरुले ठेलमठेल गरेर ठूलै झुत्ती खेल्नुपरिरहेको थियो ।
पूर्व प्रमुख आयुक्त पोखरेलले सरकार प्रमुखले आयोजना गरेको चियापान अव्यस्थित भएको र विदेशी पाहुना भित्र प्रवेशै गर्न नसकी त्यत्तिकै फर्कनुपरेकाले मुलुकको बेइज्जती हुने चिन्ता व्यक्त गरेका छन् ।
'सरकार प्रमुखले आयोजना गरेको कार्यक्रमको हविगत देखेर लाजै लागेर आयो † स्वदेशीमात्र होइन धेरै विदेशी पाहुनाले पनि ढोकासम्म पुग्ने हिम्मतै नगरी मुख रातो पार्दै फिरेको देखियो । थेग्नै नसक्ने यस्तो निमन्त्रणुले हुने फाइदा÷बेफाइदाका कुरा आयोजकले नै जानून् । हामी त बानी परेका होऊँला तर बाहिरकाको नजरमा यो मुलुकको साख कस्तो बन्यो होला हुन त त्यसको कसलाइ के मतलब !!!' पोखरेलले फेसबुकमा थप टिप्पणी गरेका छन् ।
चियापानमा पाहुनाको खातिरदारी राम्रैसित गरेर चिया चिसो पेय पदार्थका अतिरिक्त स्यान्डविच, लखामरी, सेवई, फ्रेन्च फराई, पकौडा, केरा आदि राखिएको थियो । अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले यस्तै चियापान गर्दा पाहुनालाई चिया, समोसा र जेरीमात्र दिइएको थियो । भट्टराईद्वारा आयोजित चियापानमा १५ लाख रुपैयाँभन्दा बढी खर्च भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।
यसअघि मितव्ययिता निर्देशिका नभएकाले प्रधानमन्त्रीले नयाँ वर्ष या अरु कुनै अवसरमा भोजभतेर गर्न पाउँथे सरकार प्रमुखले त्यस्ता भोजभतेरमा कतिसम्म खर्च गर्ने कुनै सीमा तोकिएको थिएन भएको सम्पूर्ण खर्च सरकारले बेहोथ्र्यो । तर यसपटक मितव्ययिता निर्देशिकाले सरकारी खर्चमा चियापान या भोजभतेर गर्न प्रतिबन्ध लगाएको छ मितव्ययिता निर्देशिका उल्लंघन गरी यसपटक आयोजित चियापानमा लागेको खर्च सरकारले बेहोर्छ त्यो भने हेर्न बाँकी रहेको सरकारी अधिकारीले उल्लेख गरे ।

No comments:

Post a Comment