Sunday, November 6, 2011

राजधानीमा ट्राफिक जाम घटाउन तत्काल बस स्टान्ड र नयाँ बाटो खोलिने

काठमाडौं, २० कात्तिक- भौतिक योजना तथा निर्माण मन्त्रालयले काठमाडौं महानगरपािलका र नगर विकास समितिसित समन्वय गरी राजधानी उपत्यकाको अव्यवस्थित हुँदै गएको ट्राफिक व्यवस्थापनलाई सहज र सुचारु बनाउन ठाउँठाउँमा तत्काल नयाँ बस स्टान्ड निर्माण र विभिन्न ठाउँबाट नयाँ बाटो खोल्ने भएको छ ।
साथै ट्राफिक जाम घटाउन राजधानीका विभिन्न सडकका पेटीको चौडाइ घटाएर बाटोलाई चौडा बनाउने तथा ठाउँठाउँमा बस स्टान्ड र बाटो छुट्ट्याउन बनाइएका संरचना भत्काएर सडक फराकिलो बनाउने कार्यसमेत धमाधम अगाडि बढाइएको जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार भौतिक योजना मन्त्रालय सडक विभाग यातायात व्यवस्था विभाग काठमाडौं महानगरपालिका नगर विकास समिति र ट्राफिक प्रहरी महाशाखाको अधिकारीहरु सहभागी बैठकले उपत्यकाको यातायात आवागमनलाई सहज बनाउन विभिन्न ठाउँमा अविलम्ब नयाँ बस स्टान्ड निर्माण र नयाँ बाटो खोल्ने निर्णय गरेको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार राजधानीको सबभन्दा बढी सडक जाम भइरहने थापाथली, त्रिपुरेश्वर, लैनचौर, लाजिम्पाटदेखि महाराजगन्जका पाँच ठाउँमा सडकसित जोडिएको सरकारी जग्गामा बस लेवाइज यात्रु ओराल्ने र उकाल्ने बस स्टान्ड निर्माण गरिनेछ । दुई साताभित्र बस स्टान्डको डिजाइन र लागत अनुमान तयार गरी निर्माण कार्य तत्काल थालिने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
ती ठाउँमा सडकमा नै यात्रुलाई उकाल्ने र ओरोल्ने गर्ने गरिएकाले ट्राफिक जाम भएको निष्कर्ष निकाल्दै सरकारले त्यहाँ सडक बाहिरपट्टि गाडी रोक्ने ठाउँ बनाउन लागेको हो । सरकारले ती पाँच ठाउँमा विभिन्न सरकारी कार्यालयको कम्पाउन्डलाई पछाडि सारी साढे १६ मिटर लम्बाइ र साँढे चार मिटर चौडाइको बस स्टान्ड बनाउनेछ । यात्रुवाहक गाडी ती ठाउँबाहेक अन्यत्र रोक्न नपाउने व्यवस्था गरिएपछि त्रिपुरेश्वरदेखि थापाथली त्रिपुरेश्वर-रत्नपार्क तथा लाजिम्पाटदेखि महारागन्जसम्म ट्राफिक जाम हुने छैन ।
त्रिपुरेश्वरमा वल्र्ड ट्रेड सेन्टर ठीक अगाडिको कान्ति ईश्वरी विद्यालय र त्रिपुरेश्वर-सुन्धाराबीचको पशु सेवा कार्यालयको कम्पाउन्ड पछाडि सारेर बस स्टान्ड बनाइनेछ । त्यसैगरी थापाथलीस्थित तथ्यांक विभाग लैनचौरस्थित खानी विभाग पानीपोखरीस्थित खानेपानी विभागको कम्पाउन्ड वाल पछाडि सारी बस स्टान्ड निर्माण गरिनेछ । ती पाँच ठाउँमा सरकारी जग्गामा बस स्टान्ड निर्माणका लागि सडक विभागलाई भोगचलन गर्न दिन भौतिक योजनाले मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएपछि तत्काल ती ठाउँमा बस स्टान्ड निर्माण कार्य सुरु गरिनेछ ।
सरकारले राजधानीको ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा िलंक रोड बनाउने र नयाँ बाटो खोल्ने भएको छ । सडक विभागले महानगरपालिकासित समन्वय गरी सहज ट्राफिक व्यवस्थापनका लागि टेकुदेखि विष्णुमतीसम्म पेट्रोलपम्पमुनिबाट दुई साताभित्र बाटो खोल्ने भएको छ । यो बाटो खुलेपछि कालीमाटी र टेकु क्षेत्रको ट्राफिक सुचारु हुनेछ ।
बिजुली बजारको पूर्व र पश्चिम दुवैतर्फ िलंक रोडलाई व्यवस्थित बनाउने सिफल चौरबाट गौशाला रातो पुल सडकमा भण्डारखालको पश्चिमतर्फ सडक खोल्ने कार्य तुरुन्त सुरु गरिने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार बुद्धनगर र शंखमूलको निर्माणाधीन पुललाई अधिकतम प्रयोगमा ल्याउन दुवैतर्फको सडकलाई तुरुन्त विस्तार गर्ने थापाथलीको बागमती पुलको काठमाडौर्ंतर्फ पुलको तलपट्टिबाट बाटो खोल्ने कार्य अविलम्ब सुरु गरिनेछ । यसले कोटेश्वरदेखि माइतीघरसम्मको ट्राफिक व्यवस्थापनलाई केही सहज बनाउने विश्वास ती अधिकारीको छ ।
भौतिक योजना महानगरपालिका र नगर विकास समितिको समन्वयमा नागपोखरी कमलादीलगायतका विभिन्न ठाउँमा सडक पेटीको चौडाइ घटाएर बाटोलाई फराकिलो बनाउने माइतीघरदेखि लैनचौर हुँदै मिनभवनसम्मका बस स्टान्ड र सडकबीचको संरचना भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु भएको छ ।

No comments:

Post a Comment