Friday, November 18, 2011

सुन र चाँदीका सौखिन नेताहरु

काठमाडौं, २ मंसिर- सामाजिक सुधार व्यवहार ऐन २०३३ अनुसार कुनै पनि व्यक्तिले दुलही वा दुलाहा पक्षबाट दाइजो र तिलक लिन नपाइने प्रस्ट व्यवस्था छ । तर क्रान्तिकारी कम्युनिस्ट हुन् या कांग्रेस या राजावादी नेता सबैजसोले सार्वजनिक पदमा बहाल हुँदा आफ्नो सम्पत्ति विवरणमा दाइजोबाट सुनका गरगहना पाएको सगर्व उल्लेख गरेका छन् । भ्रष्टाचार ऐनमा समेत सार्वजनिक पदमा रहेका व्यक्तिले कुनै दान उपहार लिन नपाइने प्रावधान छ तर कतिपय बहालवाला र पूर्वमन्त्रीहरुले दाइजोमात्र होइन आफू पदमा बहाल हुँदा पाएको दान उपहारलाई समेत सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
विगत ६÷७ वर्षयता भएका मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा नेताहरुमा महँगो पहेंलो धातु सुन र चाँदी जोड्ने मोह बढेको पाइएको छ । २०४६ सालमा प्रजातान्त्र बहाली हुँदा तत्कालीन विभिन्न पार्टीका नेताका औंलामा औंठी देिखंदैनथे । तर समयको अन्तरालसँगै ज्योतिष र धार्मिक गुरुको सल्लाहमा नेताहरुमा दुवै हातका सबैजो औंलामा विभिन्न धातुका मूल्यवान् औंठी लगाउने प्रचलन बढ्दै गएको छ । सबभन्दा धेरै औंठी लगाउने नेतामा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवादेखि तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी छन् ।
तिनै त्रिपाठी वर्तमान ४९ सदस्यीय जम्बो मन्त्रिपरिषदमा सबभन्दा धेरै सम्पत्तिमात्र होइन सुन र चाँदीसमेत सबभन्दा धेरै भएका नेतामा परेका छन् । त्रिपाठी आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १९० तोला सुन २२ किलोग्राम चाँदीका अतिरिक्त केही औंठी भएको उल्लेख गरेका छन् । उनको सुनको मूल्य नै वर्तमान बजार भाउ अनुसार १ करोड रुपैयाँभन्दा बढी छ । उनले महँगा धातु र गरगहनाको स्रोतका रुपमा पत्नीले ल्याएको दाइजो पैतृक सम्पत्ति र स्वआर्जनबाट खरिद गरेको उल्लेख गरेका छन् । कानुनविपरीत भए पनि कम्युनिस्ट हुँदै मधेशवादी राजनीतिमा लागेका नेताले सगर्व दाइजो ल्याएको स्वीकारेका हुन् । सामाजिक सुधार ऐनमा दाइजो लिएमा १० हजार जरिवाना र तीन महिना कैद हुने प्रस्ट व्यवस्था छ ।
जग्गा तथा शेयरको मूल्य दिनानुदिन घट्दै गएको र अरु क्षेत्रमा गरेको लगानीमा समेत फाइदाभन्दा भन्दा घाटा बढ्दै गएपछि नेताहरुमा दिनानुदिन भाउ बढ्दै गएको सुन र चाँदीमा लगानी गर्ने मोह बढ्दै गएको नेताहरुले नै उल्लेख गरेका छन् । उनीहरुका अनुसार पछिल्लो समयमा अरु क्षेत्रको लगानी असुरक्षित हुँदै गएको र सुनमा गरेको लगानी सबभन्दा सुरक्षित देखिएकाले नेताहरुको यसप्रति मोह बढेको हो । पछिल्लो समयमा मन्त्रीहरुको सम्पत्ति विवरणमा सुनको मात्रा बढी देिखंदै जानुको कारण पनि यही हो । यसअघि मन्त्रीहरुको सम्पत्ति विवरण त्यति धेरै सुन देखिने गरेको थिएन ।
राजावादी नेता रमेशनाथ पाण्डे पनि सुनका सौखिन देखिएका छन् । पाण्डेले २०६१ साउनमा नै मन्त्री हुँदा सार्वजनिक सम्पत्ति विवरणमा आफूसित २२५ तोला सुन सुनका गहना करिब चार सय तोला चाँदी र अन्य केही जवारहत र बहुमूल्य धातु रहेको उल्लेख गरेका छन् । उनको सुन÷चाँदीको मूल्य नै हालको बजार भाउअनुसार तीन करोड रुपैयाँको हाराहारीमा पर्छ । उनले सुन चाँदी र गरगहनाको स्रोतका रुपमा स्वआर्जन आफ्नी पत्नी र बुहारीले दाइजोमा ल्याएको विवरणमा जनाएका थिए यो ८ वर्षको अवधिमा उनको सुनचाँदी र गरगहना झन् बढिसकेको आँकलन गर्न सकिन्छ ।
कांग्रेस केन्द्रीय सदस्य डा। प्रकाशशरण महतले २०६६ मा ऊर्जा मन्त्री हुँदा सम्पत्ति विवरणमा आफूसित सुन ३० र चाँदी १२ सय तोला रहेको देखाएका थिए । उनले पनि सुन र चाँदीको स्रोत आफ्नो कमाइ र दाइजो नै भएको उल्लेख गरेका छन् ।
दाइजो आफैंमा कुरीति हो र क्रमशः यो समाजको रोग बन्दैछ । दाइजो दिन नसक्ता महिला मारिएका उदाहरणसमेत थुप्रै छन् । समाज परिवर्तन गर्न भनेर राजनीतिमा लागेका नेता यो प्रथाको विरोधी हुनुपर्ने हो कांग्रेस मधेशवादी दल र राजावादी नेतामा मात्र होइन आफूलाई सबै खाले कुरीतिको विपक्षमा उभ्याउने कम्युनिस्ट नेताले समेत दाइजो लिन पछि पर्दा रहेनछन् भन्ने उदाहरण बनेका छन् निवर्तमान अर्थमन्त्री सुरेन्द्र पाण्डे । उनले अर्थमन्त्री हुँदा बुझाएको आफ्नो सम्पत्ति विवरणमा १० तोला सुन देखाएका थिए त्यसको स्रोतका रुपमा दाइजो भएको उल्लेख गरेका छन् । एमाले नेता माधवकुमार नेपालको पालामा वनमन्त्री भएका दीपक बोहरा पनि धेरै सुन भएका नेतामा पर्छन् । २०६६ मा सार्वजनिक सम्पत्ति विवरणअनुसार बोहरासित १२० तोला सुन ५०० तोला चाँदी र तीन सेट हीराको गहना छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार पनि धेरै सुन चाँदी हुने नेतामा पर्छन् । उनको २०६६ मा मन्त्री हुँदा भन्दा अहिले सुन ६ तोला र चाँदी ३० तोला बढेको छ । उनले २०६६ असारमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा बुझाएको विवरणमा सुन ८५ तोला र चाँदी २७० तोला थियो । उनले यसपटक पेस गरेको विवरणमा सुन ९१ र चाँदी ३०० तोला उल्लेख गरेका छन् । उनले दुवैपटक स्रोतका रुपमा उनले पुर्खौली सम्पत्ति दाइजो र स्वआर्जनबाट सुन र चाँदी जोडेको उल्लेख गरेका थिए । वातावरण मन्त्री हेमराज तातेडसमेत दाइजोबाट सुन पाएको उल्लेख गर्ने नेतामा परेका छन् उनको सुन २५ र चाँदी २५० तोला छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक का अध्यक्ष एवं साचार मन्त्रीसमेत पहँलो धातु बढी हुने नेतामा पर्छन् । उनको ८५ तोला सुन र ३५० तोला चाँदी छ । उनले पनि दाइजो र स्वआर्जनबाट गहना जोडेको विवरणमा उल्लेख छ ।
मन्त्री राजेन्द्र महतोको भने दुई वर्षमा सुन र चाँदी बढेको छैन । उनले २०६६ साउन ४ मा बुझाएको विवरणमा ९५ तोला सुन र ३ किलो चाँदी देखाएका थिए । स्रोतका रुपमा पैत्रिक र पत्नीले माइतीबाट ल्याएको उल्लेख छ । उनले यसपटक मन्त्री हुँदा पनि सुन र चाँदी उत्ति नै रहेको उल्लेख गरेका छन् । स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव पनि सुन÷चाँदी धेरै हुने नेतामा परेका छन् । उनले सुन ५० तोला र चाँदी २ सय ५० तोला रहेको उल्लेख गरेका छन् ।
कृषिमन्त्री नन्दनकुमार दत्त सुनको मूल्य बढ्दै गएपछि नेताहरुमा पहँलो धातु किन्ने मोह बढ्दै गएको उदाहरण बनेका छन् । उनले ०६७ चैतमा सप्तरीको जग्गा बेचेर सुन किनेको उल्लेख गरेका छन् । उनको ३० तोला सुन र २५ तोला चाँदी छ ।
फोरमका नेता शरदिसंह भण्डारी र कांग्रेस केन्द्रीय सदस्य मिनेन्द रिजाल पनि गरगहना धेरै हुने पहाडी नेतामा पर्छन् । २०६६ असारमा पेस गरेको सम्पत्ति विवरणमा भण्डारीको ७० तोला सुन र ५०० तोला चाँदी थियो भने रिजालको सुन ४० र चाँदी ४०० तोला । त्यतिबेलाकै अर्का मन्त्री बालकृष्ण खाँणको समेत सुन ४० र चाँदी ६० तोला थियो ।
पहाडी नेतामा भन्दा मधेशी नेता सुनमा बढी सौखिन देखिएका छन् । २०६६ मा स्वास्थ्यमन्त्री भएका उमाकान्त चौधरीको सुन ६० र चादी ः२५ किलो र फोरम लोकतान्त्रिक का नेता मृगेन्द्रकुमारिसंह यादवको सुन २५ र चाँदी २०० तोला भएको २०६६ मा उल्लेख गरेका थिए । पूर्वमन्त्री लोकेन्द्रबहादुर चन्दमा समेत सुन मोह देखिएको छ । उनले २०५९ कात्तिकमा प्रधानमन्त्री हुँदा बुझाएको विवरणमा सुन ७० तोला हिराको सेट दुई थान र चाँदी ४०० तोला देखाएका थिए ।








No comments:

Post a Comment