Saturday, November 26, 2011

सिकारु आयोगको कार्यालय स्टाफ कलेजमा

काठमाडौं, १० मंसिर- राज्य पुनस्रंरचना आयोगको कार्यालय ललितपुरको जवालाखेलस्थित प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेज को भवनमा राखिने भएको छ । मन्त्रिपरिषदले मंसिर ६ मा अध्यक्षविहीन ९ सदस्यीय आयोग गठन गरे पनि कार्यालय नभएकाले त्यसले काम नै सुरु गर्न पाएको थिएन । राज्य पुनस्रंरचनाका बारेमा सिकारु नै राज्य पुनस्रंरचना गर्ने आयोगको सदस्य नियुक्त भएकाले त्यसको कार्यालय स्टाफ कलेजमा राखिनु आफैंमा रोचक संयोग बन्न पुगेको छ ।
संस्कृति तथा संघीय मामिला मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार आइतबारदेखि आयोगको कार्यालय प्रशासनिक प्रशिक्षण केन्द्रको भवनमा राखिनेछ । आयोगले पहिलो बैठकसमेत आइतबार नै बसी आफ्नो कार्य सुरु गर्नेछ ।
अध्यक्ष नभएकाले आयोगको बैठकको संयोजन र त्यसकालाई आवश्यक सामग्रीको व्यवस्थापन संस्कृति तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले गर्नेछन् । सरकारले आयोगलाई राज्य पुनस्रंरचनासम्बन्धी सुझाव दिन दुई महिनाको म्याद दिएको छ ।
सदस्यहरुलाई ५२ हजार सुविधा
सरकारले आयोगका सदस्यहरुलाई प्रतिमहिना ५२ हजार रुपैयाँका दरले तलबसुविधा दिने भएको छ । सरकारको निर्णयअनुसार सदस्यहरुलाई मासिक रुपमा तलब ३७ हजार यातायात सुविधा १३ हजार र साचार सुविधा २ हजार रुपैयाँका दरले दिइनेछ । यातायात सुविधा दिइएकाले उनीहरुलाई छुट्टै गाडी सुविधा भने दिइने छैन ।

No comments:

Post a Comment